पृथ्वी राजमार्गमा गुडिरहेको एक ट्रकमा आगलागी

Posted on: 23 Apr, 2024

वैशाख ११, काठमाडौं | पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ । ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो ।

केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ आइरहेको थियो ।


आगलागीको कारण खुलेको छैन तर केमिकलहरु एकापसमा ठोक्किएर आगो लागेको हुनसक्ने अनुमान छ । उक्त ट्रकमा औषधिमा प्रयोग हुने केमिकल लोड भएको अनुमान छ । तर, कस्तो खालको केमिकल हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

आगो निभाउन धुनिबेसी नगरपालिकाबाट दमकल मगाइएको थियो । तर दमकल आउन ढिला भएकाले आगो ट्रकभरी फैलिएको थियो ।

दमकलको सहायतामा आगो निभाएपछि अहिले अवस्था सामान्य रहेको र राजमार्गमा गाडीहरु निर्वाध रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!