कोलम्बियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु

Posted on: 30 Apr, 2024

बैशाख १८,  काठमाडौँ । ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु भएको छ ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार देशको उत्तरी भागको ग्रामीण क्षेत्रमा उक्त सैन्य हेलिकप्टर सोमबार दिउँसो १ः५० मा दुर्घटनामा परेको हो ।


शान्ता रोशा देल सुर क्षेत्रका गल्फ क्लान नामका आपराधिक विद्रोहीहरूसँग युद्ध गरिरहेको सरकारी सेनालाई आवश्यक सामाग्री लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।

रुसमा बनेको एमआई १७ मोडेलको हेलिकप्टर दुर्घटनामा परेको थियो । गल्फ क्लान ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली आपराधिक सिन्डिकेट भएको बताइन्छ ।

लागूऔषध कारोबारमा यो समूह नामुद मानिन्छ । कयौँ हत्या तथा अपहरणमा जोडिएको यो समूहले धेरै खानीहरूको नियन्त्रणमा पनि लिएको छ ।

उक्त समूहका नाइके दाइरो एन्तोनियो उसुगालाई गत वर्ष अमेरिकामा ४५ वर्ष जेल सजाय सुनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!