रास्वपा संसदीय दलको बैठकमा के भयो कुराकानी?

Posted on: 07 May, 2024

बैशाख २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठकमा मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको छ।

पार्टी संसदीय दलको बैठक मंगलबार बिहान सिंहदरबारमा बसेको थियो।

बैठकमा बोल्ने केही सांसदहरूले मन्त्रीहरूको कार्यसम्पादन अपेक्षित हुन नसकेको विषय उठाएका हुन्।


‘मन्त्रीहरूको अहिलेको कार्यसम्पादनबाट सन्तुष्ट हुने ठाउँ देखिँदैन। जनअपेक्षा अनुसार हामीले योभन्दा धेरै काम गर्नुपर्नेछ भनेर सांसदहरूले धारणा राख्नुभयो,’ सांसद मनीष झाले भने।

त्यस्तै, आजको बैठकमा संसद्को बर्खे अधिवेशनमा प्रभावकारी ढंगले प्रस्तुत हुने विषयमा पनि सदस्यहरूले धारणा राखेका थिए।

रास्वपा दोस्रो बर्खे अधिवेशनमा प्रस्तुत हुन लागेकाले यसअघिको कामको निर्मम समीक्षा गरेर नीति, कार्यक्रम र बजेटमा प्रस्तुत हुनुपर्ने सांसदहरूको धारणा रहेको झाले बताए।

त्यस्तै सहकारीको बचत अपचलनबारे नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समितिको विषयप्रति रास्वपाको ध्यानाकर्षण भएको सांसद झाले बताए।

उनले व्यक्ति विशेषको सन्दर्भमा भन्दा पनि समग्र समस्यालाई निकास दिने गरी समिति बन्न रास्वपा बाधक नरहेको बताए।

‘यो नेपाली कांग्रेसको एजेन्डा हो। यसबारे हाम्रो संसदीय दलमा छलफल भएन। तथापि समग्र समस्यालाई निकास दिने, निष्कर्षमा पुर्‍याउने प्रक्रियामा हामी बाधक बन्दैनौं,’ उनले भने, ‘तर, यस विषयमा कांग्रेस नै एक मत छैन। कांग्रेसका कोही नेता संसदीय छानबिन समिति माग गर्छन्। कोही राजीनामा दिनुपर्छ भन्छन्। उनीहरूको एउटा धारणा आओस्।’

उनले कांग्रेसले सहकारीको समस्या समाधान गर्न भन्दा पनि गठबन्धन भत्काउने दाउपेचले संसदीय छानबिन समिति गठनको कुरा अघि सारेको बताए।

‘समग्र समस्यालाई निकास दिन हामी बाधक छैनौं। तर कांग्रेसले मागेको कुरा के हो त्यो चाहिँ प्रष्ट होस्,’ उनले भने।

यस बिषयमा तपाइको प्रतिक्रिया...!