६० किलो सुन तस्करी प्रकरण: हङकङमा बसेर नेपालमा धन्दा, यस्तो छ नालीबेली

Posted on: 13 Sep, 2023

भदौ २७, काठमाडौँ | ‘ब्रेक-शू’मार्फत हङकङ्ग हुँदै नेपाल ल्याएर साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान सम्पन्न गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आफ्नो अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । सीआइबीले यस प्रकरणमा ५० जनालाई विभिन्न कसूरमा मुद्दा दर्ता गराउन रायसहितको आफ्नो प्रतिवेदन बुझाएको हो ।

सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीले जनाएको छ। सीआईबीका अनुसार पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेशी र ४ नेपाली छन्।

आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय सीआईबीले दिएको छ। रेडिट्रेडमार्फत् भित्रिएका सबै ब्रेकप्याडको तौल यकिन गर्दा थप ३०२ किलो ६२० ग्राम गरी कूल ३६२ किलो सुन पुगेको सीआईबीले जनाएको छ।

राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन विमानस्थलबाहिरबाट ब्रेक सुभित्र सुन रहेको आशंकामा भन्सार पास भएर बाहिरिएको सामानलाई नियन्त्रणमा लिएको थियो। ब्रेक सुमा राखिएको सुन पछि जोख्दा ६० केजीभन्दा बढी रहेको पाइएको थियो ।

१९ दिनसम्म राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेकामा पछि सरकारले निर्णय गरेर अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो । घटनाका अनुसन्धानमा सीआईबीले ४२ जना प्रहरीलाई विभिन्न समूहमा बाँडेर खटाएको थियो ।

सीआईबीका अनुसार चिनियाँ गिरोहले भन्सारको सामानमा राखेर संगठितरुपमा नेपालमा सुन तस्करी गर्ने गरेका थिए ।


सीआईबीका एसपी संजयसिंह थापाले चिनियाँ गिरोहले नेपालमा ७ वटा कम्पनी खोलेर विद्युतीय सामानहरू आयात गर्ने गरेको जानकारी दिए । नेपालीहरूका नाममा कम्पनी खोलेर विद्युतीय सामग्री ल्याउने नाममा त्यसभित्र सुन राख्ने गरिएको उनले बताए ।

‘तीमध्ये ६ वटा कम्पनीले भन्सार पास गरेर सामान भित्र्याएको देखिन्छ भने एउटा कम्पनीको सामान मात्र पास नभएको देखिएको छ’, एसपी थापाले भने । उनले सुन आयात व्यवस्थापन र विक्री वितरणका लागि हङकङदेखि नेपालसम्म विभिन्न समूहहरू रहेको बताए ।

राजस्व अनुसन्धान विभागले मिसिल जिम्मा लगाउँदा थुप्रै काम बाँकी रहको बताउँदै अहोरात्रको अनुसन्धानले नयाँ तथ्यहरू फेला पर्दै गएको पनि उनले बताए ।

‘सुन हङकङबाट आउने गरेको देखिएको छ । नेपालमा भन्सार पास भइसकेपछि बालुवाटारको गोदाममा लगेर राख्ने तथा लाजिम्पाट र टोखामा रहेका सुन गाल्ने ठाउँमा पुर्‍याएर सुन छुट्याउँदै बिस्कुट बनाएपछि बजारसम्म पुर्‍याउने गरिएको देखिन्छ’, एसपी थापाले भने । प्रहरीका अनुसार गिरोहले नेपालमा सुन गाल्न १० वटा मेसिन राखेको भेटिएको छ ।

प्रहरीका अनुसार भन्सारको सामानमा सुन राखेर ल्याउन विभिन्न गरिब नेपालीलाई प्रलोभनमा पारेर उनीहरूका नाममा गिरोहले कम्पनी खोलेको थियो ।

‘विद्युतीय उपकरणहरू, ब्रेक सु, इलेक्ट्रिक वाचलगायतका उपकरणहरू नेपालमा भित्र्याउने र सुरुमा ट्रायलका रूपमा एक दुई कार्टुनहरू ल्याउने गरेको देखियो’, अनुसन्धान अधिकृत थापा भन्छन् । त्यही ट्रायलमार्फत भन्सारको प्रक्रिया र सुरक्षा चुनौतीहरूलाई गिरोहले हेर्ने र बुझ्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ ।

सीआईबीले बरामद भएको ब्रेक प्याड र त्यसलाई ल्याउने कम्पनीसँग सम्बन्धित विषयमा मात्र अनुसन्धान भएको र अन्य ६ वटा कम्पनीले ल्याएका सामान र ती कम्पनीमाथि अनुसन्धान बाँकी रहेको जनाएको छ । ‘अन्य ६ कम्पनी र उनीहरूले ल्याएका सामानमाथि अनुसन्धान ओपन छ’, थापाले भने ।

उनले चिनियाँ गिरोहको माथिल्लो तह हङकङमा बस्ने गरेको र विभिन्न तहहरू सृजना गरी तस्करी हुने गरेको बताए । माथिल्लो तहका व्यक्तिहरू नेपालमा आउने जाने समेत गर्ने गरेको सीआईबीको भनाई छ ।


हङकङमा रहेका तीनवटा कम्पनीमार्फत गिरोहले ब्रेक प्याड पठाएको पाइएको छ । लिन भन्ने चिनियाँ नागरिकसहितका व्यक्तिले ती कम्पनीमार्फत क्यारियर ग्लोबल लजिस्टिक नामक हङकङमा रहेको कार्गोबाट नेपालमा उक्त सामान पठाएका थिए ।

यसरी आइपुगेको सामान लाजिम्पाट र टोखामा रहेको गाल्ने काराखानामा पुर्‍याउन नेपालीलाई एयरपोर्ट पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । चिनियाँ गिरोहले भारतीय नागरिक थुप्डेन छिरिङलाई सामान आएको बारे जानकारी दिएर रिसिभका लागि मान्छे पठाउन लगाएको पाइएको छ ।

प्रहरीका अनुसार थुप्डेनले नेपालमा कम्पनी दर्ताका लागि नेपालीहरू खोज्नेदेखि घर भाडा लिनेसम्मको काममा मुख्य गिरोहलाई सहयोग गरेको दाबी गरिएको छ ।

सीआईबीका अनुसार एयरपोर्टबाहिर ब्रेक सु नियन्त्रणमा लिँदा थुप्डेनले हर्कराज राई नाम गरेका नेपालीलाई सामान लिन एयरपोर्ट पठाएका थिए ।

राईले पूर्व भन्सार एजेन्ट राजेन्द्र राईसँग मिलेर उक्त सामान भन्सार पास गरेर बाहिर निकाल्ने काममा खटिएको अनुसन्धान अधिकृत थापाले भने ।

गोदामबाट निकालेर भन्सार पास नहुँदासम्म विभिन्न चरणमा त्यसको जाँच हुने गर्छ । यसरी जाँच भएर बाहिर निस्किएको सामानलाई राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएर परीक्षण गरेको थियो ।

तस्करीबारे सीआईबीद्वारा सार्वजनिक अन्य विवरण



यस बिषयमा तपाइको प्रतिक्रिया...!