जेठ ६, काठमाडौँ | नेपालको दक्षिणतर्फ भारतसँग सिमाना जोडिएका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमित नभेटिएको कर्णाली प्रदेशको दैलेखमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा पुन: परीक्षण गरिएको थियो ।
त्यस्तै बाँकेको नरैनापुरमा सोमबार दिउँसो १ महिलासहित ४७ जनामा संक्रमण पुष्टि भएका सोमबार रातिको रिपोर्ट संगै थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार क्वारेन्टाइनमा मृत्यु भएका युवक पनि नरैनापुरकै हुन् ।
यता खोटाङ जिल्लामा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । उनी हलेसी नगरपालिकाका निवासी पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसहित सोमबार रातिसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमित मध्य दुई जनाको मृत्यु भएको छ भने गुल्मीका एक संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । नेपालमा कोरोना संक्रमित मध्ये ३६ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!