दीपेन्द्रलाई ‘रिटायर्ड हर्ट’ गराएकोमा कप्तान क्रिस लिनले मागे माफी

Posted on: 07 Aug, 2023

साउन २२, काठमाडौँ  | ग्लोबल टी–२० क्यानडा (क्रिकेट)को उपाधि जितेको मोन्टेरियल टाइगर्सका कप्तान क्रिस लिनले नेपाली अलराउन्डर तथा उक्त टिमका खेलाडी दीपेन्द्रसिंह ऐरीसँग माफी मागेका छन्। अस्ट्रेलियाका स्टार ब्याटर लिनेले ग्लोबल टी–२० को उपाधि हासिल गरेपछि पत्रकारसँग कुराकानी गर्ने क्रममा ऐरीसँग माफी मागेका हुन्।

फाइनल खेलमा नेपालका स्टार बलर सन्दिप लामिछाने आबद्ध सर्रे जगुअर्सलाई मोन्टेरियलले ५ विकेटले हराउँदै उपाधि जितेको हो।


टिमले उपाधि जितेपछि कप्तान लिनले भने, ‘म दीपेन्द्रसँग माफी माग्न चाहन्छु। मैले कहिल्यै सोचेको थिइनँ, कुनैदिन ब्याटरलाई रिटायर गराउनेछु। तर, जब टिममा आन्द्रे रसेल जस्ता खेलाडीको पालो आउन बाँकी रहन्छ, टिम अझ सशक्त हुन्छ भने त्यस्तो निर्णय लिनुपर्छ। हाम्रो निर्णय सही साबित भयो र हामी च्याम्पियन भयौं।’

दीपेन्द्र १८औं ओभरको अन्तिम बलमा दीपेन्द्र रिटायर्ड हर्ट आउट भएका थिए। बाउन्ड्री आवश्यक परिरहेका बेला लिनले ऐरीलाई फिर्ता बोलाएका हुन्। दीपेन्द्रपछि ब्याटिङमा आन्द्रे रसल आउँदै थिए। 

उपाधिका लागि १३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सले १८ ओभरमा १०६ रन बनाएर ५ विकेट गुमाएको थियो। अन्तिम दुई ओभरमा २५ रन आवश्यक रहेको अवस्थामा हिटर जरुरी थियो। प्रतियोगिता भरी टिमका लागि सम्हालिएर खेल्ने जिम्मेवारी लिएका दीपेन्द्रले १७ बलमा १६ रन बनाएर खेलिरहेका थिए। 

प्रतियोगितामा दीपेन्द्रले टाइगर्सको धेरै रन बनाउने ब्याटरमध्ये तेस्रो नम्बरमा रहे। उनले ६ इनिङमा १४० बल खेलेर १४३ रन बनाए। उनको स्ट्राइक रेट १०२.१४ रह्यो। लिनले दीपेन्द्रको ऊर्जाका लागि तारिफ समेत गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!