कराँची घटनाप्रति चीनको कडा चेतावनी: हाम्रा नागरिकको रगत खेर जाने छैन

Posted on: 27 Apr, 2022

वैशाख १४, इस्लामबाद | चीनको विदेश मन्त्रालयले पाकिस्तानको कराँची घटनाप्रति कडा प्रतिक्रिया दिएको छ । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार बुधबार परराष्ट्र मन्त्रालयले चिनियाँ नागरिकको रगत खेर जान नसक्ने र यस घटनाको पछाडि जो कोही भए त्यसको मूल्य अवश्य चुकाउनुपर्ने बताएको छ ।

                

कराँची विश्वविद्यालयमा मंगलबार भएको आत्मघाती बम आक्रमणमा तीन चिनियाँ नागरिकको मृत्यु भएको थियो । तीनै जना चिनियाँ नागरिक कन्फ्युसियस इन्स्टिच्युटमा आबद्ध थिए। तीमध्ये एक जना यस संस्थानका निर्देशक थिए र अन्य दुई जना यसका शिक्षक थिए। चीनका सहायक विदेशमन्त्री वु सियाङ्गाओले चीनका लागि पाकिस्तानी राजदूतलाई फोन गरी घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

                      

उनले पाकिस्तानले विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरे। उनले चीनका नागरिकको सुरक्षाका लागि सम्भावित सबै कदम चाल्न र भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने पनि ख्याल गर्न आग्रह गरे । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले पनि घटनाको कडा आलोचना गर्दै दोषीलाई नछोड्ने बताएका छन्। मंगलबार उनले पाकिस्तानस्थित चिनियाँ दूतावासमा गएर शोक प्रकट गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!