छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा रोल्पाका एक युवक थुनामा

Posted on: 27 Jan, 2017

माघ १४, रोल्पा । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले पूर्पक्षका लागि थुनामा राखेको छ । 

पक्राउ पर्नेमा राङ्सी– ६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगर रहेका छन् । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा जिल्ला अदालत रोल्पाले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशानुसार प्रहरीले उनलाई बिहिवार थुनामा राखेको हो । 

पीडित बालिकाकी आमाका अनुसार विद्यालय गएकी छोरीलाई बाल शिक्षाको कक्षामै गत पुस २० गते घर्तीमगरले जबर्जस्ती करणी गर्न खोजेपछि बालिका रुदै कराउँदै घर आएकी थिइन् । 

घटना घटेको चार दिनपछि पीडितकी आमाले इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी निवेदन दिएकी थिइन् । जाहेरी दिएलगत्तै प्रहरीले घर्तीमगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको थियो । 

थप अनुसन्धानका लागि जिल्ला अदालत रोल्पाले अभियुक्तलाई थुनामा राख्न आदेश दिएको छ । 

विद्यालयकी शिक्षिका बिदामा रहेका कारण आफ्ना भाइलाई सट्टा शिक्षकको रुपमा विद्यालय पठाएको र भाइले नै विद्यालय बिदा भइसकेपछि बालिकालाई ललाइफकाइ जबर्जस्ती करणीको प्रयास गरेको जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!