दरबारमार्गकै जस्तो अर्को घटना: ‘१४ वर्षीय बालिका बलात्कार’ प्रहरीबाटै गुपचुप

Posted on: 03 Feb, 2018

माघ २०, काठमाडौँ । प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको अर्को घटना सार्वजनिक भएको छ । 

काठमाडौंको दरबारमार्गकै जस्तो घटना पूर्वको इटहरीमा भएको खुलेको हो । कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याई ‘मिलापत्र’ गराएको घटना करिब एक महिनासम्म कसैले सुइँकोसम्म पाएन । प्रहरीकै माथिल्लो निकायमा जब यो सूचना चुहियो, बल्ल घटनाबारे अनुसन्धान अघि बढाइयो ।

अाजको कान्तिपुरमा खबर छ-इलाका प्रहरी कार्यालय, इटहरीको उक्त सन्देहास्पद क्रियाकलापमाथि छानबिन गर्न प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले अञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पाललाई खटाएपछि घटनाले अर्कै मोड लिएको हो । एसएसपी पालले पीडित बालिकासँग बयानसमेत लिई प्रमाण जुटाएर माघ १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराइसकेको खुलेको छ ।

तर, बलात्कारका अभियुक्त धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठ प्रहरीकै लापरबाहीले फरार भइसकेका छन् । उनीहरूलाई उन्मुक्ति दिने प्रहरीमाथि समेत ‘छानबिन भइरहेको’ भन्दै कुनै कारबाही गरिएको छैन ।

बालिकाको बयानअनुसार सामाजिक सञ्चालबाट घनिष्ठता बढेका धरानका लिम्बुले १४ वर्षीया ती बालिकालाई पुस १६ गते अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन घुम्न जान प्रस्ताव गरे । उनले स्विकारिन् । इटहरीचोकमा उनीहरूको दिउँसो भेट भयो । कार लिएर आएका जोकमले साथी मनीषलाई पनि ल्याएका रहेछन् । तीन जना इटहरीको ‘चिन्तन चौतारी’ रिसोर्टमा बसेर गफ गरे ।

झमक्क साँझ परेपछि उनले घर जान चाहिन् । जोकमले ‘खाजा खाएर जानुपर्छ, चिन्ता नगर, म पुर्‍याइदिन्छु’ भने । त्यसपछि तीनैजना झन्डै ४ किलोमिटर उत्तर हलगडास्थित ‘रोयल रिसोर्ट’ पुगे । जोकम र मनीषले पहिल्यै मदिरा पिइसकेका थिए । बालिकालाई उनीहरुले जबर्जस्ती वाइन खुवाए । त्यहाँ उनीहरूले दुइटा अलग–अलग कोठा लिएका थिए । मदिरा लागेकी उनी जोकमसंगै कोठामा बसिन् । निकै अबेला बालिकाले घर पुर्‍याइदिन आग्रह गरिन् । उनले त्यो काम साथी मनीषलाई अह्राए । मनीषले ‘तिमी धेरै मातेकी छ्यौ, कागतीपानी खाऊ अनि जाउँला’ भनेर आफू बसेको कोठा नम्बर ११२ मा लगी बलात्कार गरेको उनले बयानमा बताएकी छन् ।

उक्त मितिमा मनीष बसेको कोठा नम्बर ११२ राजकुमारका नाममा ‘बुक’ गरिएको छ । ठेगाना विराटनगर र दुई जना बस्ने लेखिएको छ । तिनमा पुरुष र महिला, नातामा साथी खुलाइएको छ । यसले उनले कोठा लिँदै ती बालिकासँग रात बिताउने नियत राखेको र नामसमेत नक्कली राखेको पुष्टि भएको छ ।

‘मैले पटक–पटक आग्रह गर्दा पनि उसले जबर्जस्ती बलात्कार गर्‍यो’, बालिकाले प्रहरी जाहेरीमा उल्लेख गरेकी छन् । बलात्कारपछि उनलाई मनीषले जोकमकै कोठामा पुर्‍याइदिएको थियो । उनले ‘चिन्ता नलेऊ, म तिमीलाई स्विकार्छु’ भन्दै रातभर आफैंसँग राखेका थिए ।

विक्षिप्त अवस्थामा पुगेकी बालिका भोलिपल्ट घर नगई साथीकहाँ गइन् । यसबारे थाहा पाएपछि करिब एक सातापछि उनलाई लिएर बाबुआमा इलाका प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले जोकमलाई झिकायो तर मनीषलाई ल्याएन । घटनालाई सामान्यीकरण गर्दै दुवै पक्षलाई मिलापत्र गर्न दबाब दियो । ‘मुद्दामामिलामा धेरै पैसा खर्च हुन्छ । फेरि भोलि आरोप प्रमाणीत नभए आफैं जेल जानुपर्छ भने,’ बालिकाकी आमाले भनिन्, ‘त्यसपछि होस् है भनेर हामी मिल्न राजी भयौं । मुद्दामामिलामा किन फस्नु भनेर सहमतिपत्रमा ल्याप्चे लगाइदियौं । पुसको थाम्नै नसकिने हुस्सु र सिरेटो चलेको दिन थियो, कागजमा ल्याप्चे लगाएर त्यो उनीहरुले नै लगे, हामीलाई केही दिएनन् ।’ सामान्य आर्थिक हैसियतका बालिकाका बाबुले पनि मुद्दामामिलामा खर्च गर्न पैसा नभएकाले मिलापत्र गर्न बाध्य भएको कान्तिपुरलाई बताए ।

इलाका प्रहरीका प्रमुख डीएसपी सञ्जय राउत विदामा गएका बेला इन्चार्जको जिम्मा पाएका इन्सपेक्टर चिरञ्जीवी दाहालले दबाबपूर्ण तरिकाले मिलापत्र गराएका हुन् । स्रोतका अनुसार ‘जसरी पनि मिलाउन’ उनलाई जिल्ला प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले निर्देशन दिएका थिए । स्रोत भन्छ, ‘यसमा उच्च राजनीतिक दबाब र आर्थिक चलखेल दुवै जोडिएको छ ।’

स्रोतका अनुसार यसलाई मिलाउन ‘बिचौलिया’ सक्रिय भएका थिए । तीमार्फत पीडित पक्षलाई समेत रकम दिइएको बताइए पनि पीडितका अभिभावकले ‘एक रुपैयाँ पनि नलिएको’ बताए ।

केही सातापछि पीडितको घरमा प्रहरीको भ्यान आयो । अञ्चल प्रहरी कार्यालयबाट आएको टोलीले बालिका र अभिभावकलाई धरान पुर्‍यायो । ‘सबै कुरा सोधखोज गरेपछि किटानी जाहेरी तयार गरी छोरीलाई सहिछाप गराएर हामीलाई फेरि घर ल्याइदिए’, बालिकाकी आमाले भनिन्, ‘हामी पहिल्यै मिलिसक्यौं भन्दा पनि प्रहरीले यो मिलापत्र हुने मुद्दा होइन, सरकारवादी मुद्दा हो, हामी लड्छौं भने । हामी त मुद्दामामिला नगर्ने भनेर बसेका थियौं ।’

तर पनि आफूहरुलाई यस विषयमा थप चासो नभएको उनीहरूले सुनाए । ‘मलाई ब्लड प्रेसर र युरिक एसिड छ । दीर्घ रोगी छु । अब जे–जे गरुन्, म कहीं जान्नँ’, उनका बाबुले भने । प्रहरीको माथिल्लो तहमा घटनाको जानकारी कसरी पुग्यो र उपल्लो सक्रियता किन सुरु भयो, खुल्न सकेको छैन । मुद्दा दर्ता र छानबिनमा संलग्न एसएसपी पालले ‘दुई दिनपछि छानबिन सकिने’ बताए । उनले अभियुक्त पक्राउ पर्ने, मिलापत्र गर्न दबाब दिने र गराउने प्रहरीमाथि कारवाहीका लागि अनुसन्धानसमेत तत्काल पूरा हुने जानकारी दिए ।

इलाका प्रहरी कार्यालयका डीएसपी राउतले घटनाका आरोपीको नजिक पुग्न लागेकाले थप जानकारी दिन नमिल्ने बताए । बिदामा भएको बेला घटना भएकाले के–के भएको भन्नेबारे आफैं अनभिज्ञ रहेको उनको भनाइ छ । ‘तर एसएसपी साबले म हाजिर हुनासाथ घटनाबारे बताएपछि मुद्दा दर्ता गरेर अनुसन्धानमा अघि बढेको हुँ’, उनले भने ।

यस प्रकरणमा मुछिएका इन्स्पेक्टर दाहालले भने, ‘पीडितहरु आए पनि एक पक्षले उजुरी दिने र अर्को पक्षले मिल्नुपर्छ भन्ने विवाद कार्यालयभित्रै गरेपछि मैले जाहेरी लेखाएर आउनोस् भनी पठाएको हुँ । जघन्य अपराधमा जाहेरी नलिई अनुसन्धान अघि बढाउन मिल्दैन ।’

तर स्रोतले जाहेरी दर्ता गर्न अस्वीकार गर्दै उनैले मिल्नू भनेर दबाबपूर्ण भाषा प्रयोग गरेको जनायो । जिल्लाका प्रहरी प्रमुख एसपी माझीले दाबी गरे, ‘पीडितले जाहेरी नदिएका कारण मुद्दा ढिलो दर्ता भएको हो । प्रहरीले बलात्कारका आरोपीविरुद्ध मुद्दा दर्ता गरी अघि बढिसकेको छ । यसमा कुनै आर्थिक चलखेल भएको छैन र प्रहरी कार्यालयभित्र मिलापत्र पनि भएको छैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!