मलेसिया रोजगारीबारे सरकार मौन, रोजगार गुम्ने खतरा बढ्दै

Posted on: 09 Jan, 2019

पुस २५, काठमाडौं | जेठदेखि बन्द रहेको मलेसिया रोजगार खुल्ने अझै निश्चित छैन। मलेसियासँग ऐतिहासिक श्रम सम्झौता गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्याबासी कमाए पनि पछिल्लो समय रोजगारी खुलाउन चासो नदेखाउँदा उनको साख गुम्दै गएको छ।

मलेसियातर्फ वैदेशिक रोजगारमा पठाउन खुला गर्ने सम्बन्धमा मंगलबार संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल भएको छ। समितिमा नेपाल वैदेशिक रोजगार प्रतिनिधिसँग छलफल भएको हो। 

समितिको बैठकमा म्यानपावर व्यवसायीको धरौटी र सेवाशुल्कबारे छलफल भएको र छलफलका क्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ मन्त्रालयले भीसा प्रोसेसिङलगायत काममा भेन्डर परिवर्तन नगरी कामदार नपठाउने अडान राखेका कारण ढिलाइ भइरहेको बताए। पछिल्लो समय मलेसिया रोजगारबारे सरकार मौन रहँदै आएको छ। दुई देशका प्रतिनिधि सम्मिलित प्राविधिक टोलीको बैठकसमेत बस्न सकेको छैन। यस्तै कूटनीतिक नियोगमार्फत पनि थप कुराकानी अगाडि बढ्न नसक्दा रोजगारी गुम्ने खतरा बढ्दै गएको छ।

मलेसियाका कम्पनीले समेत कामदार नहुँदा नियमित काममा बाधा पुगेको भन्दै अरु देशबाट समेत कामदार माग गर्न थालेका छन्। यता रोजगारी खुलाउन सरकारले ठोस कदम नचाल्दा बेरोजगारको दर बढ्दै गएको छ भने रेमिट्यान्ससमेत गुम्दै गएको छ। 

सरकारले कूटनीतिकमार्फत ठोस पहल नगर्दा मलेसिया रोजगारमा अन्योलता बढ्दै गएको छ। रोजगारी खुलाउन नसक्दा बेरोजगारी दर बढ्दै गएको छ भने अर्कोतिर रेमिट्यान्स पनि गुम्दै गएको छ। मलेसिया रोजगार खुलाउन पहल नगरी सरकार मौन बस्दा आशंकाको घेराले हेर्न थालिएको छ। नेपाल र मलेसियाबीच कात्तिक १२ गते श्रम सम्झौता भएको थियो। सम्झौता कामदारमैत्री भएता पनि कुटनीतिक पहल कमजोर हुँदा मलेसिया रोजगार गुम्ने खतरा बढ्दै गएको व्यवसायी बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!