'विप्लवले अब धेरै गर्नुहुन्न' - प्रचण्ड

Posted on: 26 Jun, 2019

असार ११, चितवन | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रिया र चुनाव नै गलत लागेकाले नेत्रविक्रम चन्दले हिंसात्मक बाटो अपनाएको बताएका छन् । भरतपुरमा मंगलबार उनले भने, ‘कहिले काही उहाँ बडो

मार्मिक कुरा गर्नुहुन्छ,’ उनले भने, ‘हामी शान्ति प्रक्रियामा आइसकेपछि एक मिटिङमा उहाँले मेरो दिमाग खलबलिने गरी तर्क गर्नुभएको थियो ।’ दाहालका अनुसार चन्दले शान्ति प्रक्रिया र चुनावपछि ‘हामीलाई काठमाडौं त लिएर आउनुभयो तर मलाई नुवाकोटकी एउटी भर्खरकी युवतीलाई काठमाडौं लगेर बिहे गर्छु भनेर बम्बै पुर्याएको जस्तो फिल भयो’ भनेका थिए । 


‘अहिले बम्बै हैन, काठमाडौं नै ल्याएको भनेर चन्दले बुझ्न थाल्नुभएको छ,’ दाहालले भने, ‘त्यो कुरा बुझ्न उहाँलाई यस्तै केही न केही गर्नु थियो, त्यो गर्नुभयो। अब धेर गर्नुहुन्न ।’

आजको कान्तिपुर दैनिकको प्रथम पृष्ठमा समाचार छ ।  

‘फ्रि–तिब्बत’ मा सहभागी भएकोमा सांसद निलम्बित

समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ । समाजवादीले यादवलाई पार्टी नीति विपरीत लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएकामा कारबाही गरेको हो । पार्टी नीतिविपरीत जानकारी नगराई त्यहा भएको ‘इन्टरनेसनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि–तिब्बत’ कार्यक्रममा सहभागी भएकामा समाजवादीले यादवसँग लिखित स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पदाधिकारी बैठकले यादवलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको समाजवादीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

- आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!