प्रदेश नम्बर ७ मा मतदाता शिक्षा कार्यक्रम स्थगित

Posted on: 26 Apr, 2017

बैशाख १३, डडेल्धुरा । यही बैशाख १ गतेदेखि प्रदेश नम्बर सातका सबै जिल्लामा सुरु भएको मतदाता शिक्षा कार्यक्रम मङ्गलबारदेखि स्थगित भएको छ ।

 सरकारको दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णयअनुसार प्रदेश नम्बर सातमा जेठ ३१ गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

 मतदाताहरुको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न बैशाख १ गतेदेखि प्रदेश नम्बर सातका नौँ वटै जिल्लामा एक हजार सात सय ९० जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएका थिए । जसमा डडेल्धुरामा एक सय १८, बैतडीमा एक सय ८७ जना मतदाता शिक्षा कार्यकर्ता परिचालित थिए ।

 यस्तै उता कैलालीमा सबै भन्दा बढी ४ सय ९० र सबै भन्दा कम बाजुरामा बाजुरा ६९ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको थियो । डोटीमा एक सय ५९ जना, अछाम एक सय ८९ जना मतदाता शिक्षा कार्यकर्ता परिचालित गरिएको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

 यस्तै कञ्चनपुरमा २ सय ९३ जना, दार्चुला १ सय २७ जना र बझाङ १ सय ५८ जनालाई मतदाताहरुको घरमै गएर चुनावमा मतदानको बारेमा जानकारी गराउनको लागि परिचालित गरिएको थियो ।

 निर्वाचन आयोगको निर्देशनअनुसार स्थगित गरिएको मतदाता शिक्षा कार्यक्रम आगामी जेठ ५ गतेदेखि पुनः सुरु गरिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी मोहन प्रसाद अर्यालले जनाकारी दिएका छन् ।

 निर्वाचन आयोगले स्थनीय तहको निर्वाचनका लागि प्रदेश नम्बर सातमा ११ सय ८ मतदान स्थल र एक हजार सात सय ८० वटा मतदान केन्द्र यसअघि नै निर्धारण गरि सकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!