सत्तापक्षकै सांसदहरु सरकारविरुद्ध खनिए

Posted on: 31 Oct, 2018

कात्तिक १४, सुर्खेत | कर्णाली प्रदेशका सांसदहरु प्रदेश सरकारका विरुद्धमा खनिएका छन् । दुई तिहाइको सरकारले प्रदेशको बिकास र समृद्धिका लागि योजना बनाउन नसकेको भन्दै सांसदहरु आक्रोशित भएका हुन् । झण्डै तीन महिनापछि मंगलबारबाट कर्णाली प्रदेशसभा बैठक सुचारु भए पछि संसदमै सांसदहरु मन्त्रीहरुका बिरुद्ध खनिएका छन् ।

बुधबार बसेको बर्णाली प्रदेश सभा बैठकको बिषेश समयमा बोल्ने सांसदहरुले बजेट भाषणमा ल्याएका योजनाहरु योजना पुस्तिका (रातो किताब) मा नसमेटिएको भन्दै सांसदहरुले आक्रोश पोखेका हुन् । बजेट पारित भएको चार महिना पछि मंगलबार सरकारले सांसदलाई उपलब्ध गराए पछि बुधबारको बैठकमा सांसदहरुले उक्त रातो किताबमा केन्द्रित भएर धारणा राखेका छन् ।

बुधबार बैठकको सुरुमै कर्णाली प्रदेश सभाको विपक्षी दलका नेता नेपाली काँग्रेसका सांसद जीवनबहादुर शाहीले संसदमा बोल्दै सरकारको आलोचना गरेपछि सत्तापक्षका सांसदहरु पनि उनलाई पछ्याउँदै विरोमा उत्रिएका हुन् । उनीहरुले मुख्यमन्त्री र मन्त्रीहरुलाई सत्ता ढाल्नेसम्मको चेतावनी दिएका छन् । ‘सरकार गठन भएको एक बर्ष भयो सरकारका मन्त्रीहरु सच्चिनु भएन भने हामी विकल्प खोज्न बाध्य हुनु पर्ला’ नेकपाका सांसद ठम्मरबहादुर बिष्टले भने, ‘मुख्यमन्त्रीलाई नटेर्ने र संसदको गरिमालाई लत्याउने मन्त्रीको वर्गीकरण गरी मन्त्रीहरु फिर्ता बोलाउन ढिला गर्नु हुँदैन ।’ नेकपा संसदीय दलको नेताविहीन हुँदा पनि मन्त्रीहरु अटेरी बनेको उनले बताए ।


नेकपाका सांसद पदम रोकायाले मन्त्रीहरुले बजेटमा सांसदहरुलाई विभेद गरेको भन्दै यस्तो नगर्न चेतावनी दिए । सरकारका गतिविधीले दुई तिहाइ बहुमतको सरकार पाँच बर्षसम्म टिक्नेमा शंका गरे । ‘सरकारका यस्तै गतिविधीले यो सरकार ५ बर्ष टिक्न सक्दैन’ उनले भने, ‘आज संसदमा सात जना मन्त्रीबाहेक अरु सबै प्रतिपक्षमा छौ ।’ प्रदेश सरकारको गतीले जनतामा निराशा छाएको र सांसदहरुलाई गाउँ जान समेत कठिन भएको उनले बताए ।

नेकपाकै अर्का सांसद बिचौलियाको प्रभावमा प्रदेश सरकारले बजेट विनियोजन गरेको आरोप लगाए । ‘अहिले मन्त्रीहरुको हिमचिम बिचौलियाहरुसंग बढेको छ । योजना छनौट र बजेट विनियोजनबारे मुख्यमन्त्रीले मन्त्रीहरुबाट छानविन थाल्नु पर्छ’ उनले भने । कर्णाली सरकारले कर्णाली समृद्धिको नारा व्यवहारमा देखाउन नसकेको सांसद अम्मरबहादुर थापाको गुनासो छ । मुलुकमा व्यवस्था फेरीए पनि शासकहरुको चरित्र नफेरिएको भन्दै उनले संसदमै आक्रोश पोखे ।

नेकपाका सांसद बिन्दमान बिष्टले मन्त्रीहरुको निम्न सोचाइले जनतामा निराशा छाएको बताए । योजना वितरणमा मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्र र जिल्ला केन्द्रित भएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । बजेट पारित भएको ४ महिनासम्म पनि सरकारले योजना पुस्तिका नल्याए पछि प्रतिपक्षी नेपाली काँग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो ।

बुधबारको प्रदेश सभा बैठकमा भाग लिँदै कर्णाली प्रदेश सभा विपक्षी दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारका कारण संघीयता नै धरापमा पर्न लागेको बताए । कर्णाली प्रदेशकै कारण मुलुकमा संघीयता कार्यान्वयनमा अप्ठ्यारोमा पर्न सक्ने उनको तर्क छ । ‘कर्णाली सरकारका मन्त्रीहरुको कार्यशैलीका कारण कर्णाली प्रदेश गन्हाईसकेको छ’ उनले भने । बजेटको किताब माग्न संसद अवरुद्ध गर्नु पर्ने बाध्यता भएको भन्दै उनले बोलेर प्रदेशको समृद्धि नहुने बताए । चार महिनापछि सरकारले ल्याएको बजेट आफन्तमुखी भएको उनको टिप्पणी छ ।

विगत ४ बर्षदेखि त्रिपालमुनी बस्दै आएका सुर्खेतका बाढीपीडितहरुको समस्या समाधान गर्न सांसदहरुले कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सानातिना कार्यक्रमहरु उद्घाटनमा हेलिकोप्टर चार्टर गर्ने सरकारले बाढीपीडितको समस्या समाधानमा ध्यान नदिएको उनीहरुको आरोप छ ।बुधबारको प्रदेश सभा बैठकमा बिशेष समयमा बोल्दै नेकपाका सांसद पद्मा खड्काले बाढी पीडितको समस्या समाधान गर्न र सुर्खेतबाट कोहदलपुर सारिएको हावापानी कार्यालय सुर्खेतमै राख्न सरकारको ध्यानाकर्षण गराईन् ।

सरकारले ल्याएको बजेट बितरणमुखी भएको भन्दै सरकारको आलोचना गरिन् । कर्णाली सरकारले बजेट विनियोजन गर्दा प्रत्यक्ष निर्वाचित प्रणाली र समानुपातिक प्रर्णालीबाट निर्वाचित सांसदिहरुबीच विभेद गरेको भन्दै आक्रोश पोखिन् । सांसद कुर्मराज शाहीले असोज २४ गते परेको असिना पानीले कालीकोटको शुभकालिका गाउँपालिका र रास्कोट नगरपालिकामा धानबाली र मकै बालीमा क्षती पुर्याएको भन्दै त्यहाँका किसानलाई राहत दिन सरकारसंग माग गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!