महिनावारी हुँदा किन लजाउने !

Posted on: 02 Apr, 2018

ताराबहादुर महत । चैत्र १९, दोलखा । महिलाहरुले महिनावारीको बेला अपनाउनुपर्ने सुरक्षाको उपाय र यसबाट हुने फाईदाको बारेमा आज चरिकोटमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


फ्रिडम किट ब्याग बेलायतको सहयोग भएको अभिमुखीकरण कार्यक्रममा महिनावारी हुने उमेर समुहका महिला तथा किशोरीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा फ्रिडम किट ब्यागका नेपाली दुत निर्मला श्रेष्ठ र किशोरजंग कार्कीले महिनावारीको बेला अपनाउनुपर्ने सुरक्षा, सरसफाई र प्याड प्रयोगको उपयुक्त तरिकाका बारेमा जानकारी गराउनुभएको थियो । अभिमुखीकरण कार्यक्रम पश्चात्त करिब एक सय जना महिला तथा किशोरीहरुलाई महिनावारीको बेला प्रयोग गरिने आवश्यक सामाग्रीहरुसहितको किट ब्याग प्रदान गरिएको छ । आयोजकका अनुसार किट ब्यागमा रहेका सामाग्रीहरु नेपालमै उत्पादन गरिएको हो ।

महिनावारीको समयमा आवश्यक सुरक्षाको उपाय अपनाउन नसक्दा नेपालमा धेरै महिलाहरु बाँझोपन र गर्भ खेर जाने जस्ता समस्याको शिकार बन्नु परेको अवस्थामा थोरै भएपनि चेतनामुलक कार्यक्रमले राहत पुगोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको फ्रिडम किट ब्याग बेलायतकी प्रतिनिधि रोजा माथेसनको भनाई छ । ‘‘महिनावारी भयो भनेर कोहि पनि लजाउन वा डराउन पर्दैन, यो त भएन भने पो डराउनुपर्छ’’ प्रतिनिधि रोजाले भन्नुभयो । एकजना महिला स्वस्थ भईन भने मात्र परिवार स्वस्थ हुने र परिवार स्वस्थ भएमा सबै खुसी हुने भएकोले महिनावारीको समयमा उचित सुरक्षाका उपाय अपनाउन उनको सल्लाह छ । 

यस संस्थाले यसअघि सिन्धुपाल्चोक, संखुवासभा, दोलखा जिरी लगायत विभिन्न ठाउँमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी करिब तीन हजार महिला तथा किशोरीहरुलाई महिनावारी किट ब्याग वितरण गरेको जनाएको छ । कार्यक्रम प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगाल र जिल्ला अस्पताल जिरीकी मेडिकल सुपरीटेन्डेन अर्चना केसीको पहलमा सम्पन्न भएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!