अछामका बादी समुदायको जीवनशैली फेरिँदै

Posted on: 15 May, 2018

जेठ १ अछाम | साँफेबगर नगरपालिकामा बसोवास गर्दैआएका बादी समुदायको जीवनशैली फेरिँदै गएको छ । 

सुल्पा, मादललगायत सामग्री बनाएर गाउँ÷गाउँ गएर बेचेर तथा नाचगान गरेर जीविकोपार्जन गर्दे आएका बादीले अहिले आफ्नो पेशा परिवर्तन गरेका छन् । साँफेबगर नगरपालिका–४ मष्टामाण्डौँको बूढीगंगा नदीको किनारमा बसोवास गर्दे आएका उनीहरुले अहिले व्यापार र कुखुरापालन गर्दैआएका छन् । 

वडाले बादीका दुई परिवारलाई आयआर्जनका लागि रु ५०÷५० हजार सहयोग गरेको छ । मिठ्ठु बादीले पसल सञ्चालन गर्नुभएको छ भने शान्ता बादी कुखुरापालनका लागि खोर व्यवस्थापनमा लाग्नुभएको छ । 

बादी समुदायले नाचेर, मागेर खानुपर्छ, अरु व्यवसाय गर्न हुन्न भन्ने सोचको अन्त्य गर्न आफूले खुद्रा व्यापार शुरु गरेको रमेश बादीले बताउनुभयो । 

“पहिलेको जस्तो मागेर खाने अवस्था छैन,” उहाँले भन्नुभयो, “पहिलेको जस्तो बिक्री हुदैन, जीवन धान्न व्यापार शुरु गरेको छु ।” 

यस्तै शान्ता बादी कुखुरापालन गर्न खोर बनाउन थाल्नुभएको छ । नगरपालिकाबाट सहयोग प्राप्त भएपछि उहाँ निकै खुशी हुनुहुन्छ । शान्ताको श्रीमान् बित्नु भएको सात वर्ष भयो । “श्रीमान् हुँदा जेनतेन गुजारा हुन्थ्यो । उहाँ बितेपछि निकै समस्या भयो । पैसा नहुँदा केही गर्न सकिएन, अब मागेर खाने जमाना गयो,” उहाँले भन्नुभयो– “खेतीपाती गर्नलाई जमिन छैन ।” 

जीविकोपार्जन र आयआर्जनका लागि सहयोग उपलब्ध गराएको साँफेबगर नगरपालिका–४ का वडाअध्यक्ष बालगिरी कुँवरले बताउनुभयो । बादी समुदायको जीवनस्तर उकास्न सहयोग गरेका हौँ” उहाँले भन्नुभयो । 

बादी समुदायको दुई परिवार सॉफेबगर नगरपालिका–४ मष्टामाण्डाँैमा बसोवास गर्दैआएको छ । सरकारको जनता आवासीय कार्यक्रम अन्तर्गत शहरी विकासले रु दुई लाख २५ हजारमा घर निमार्ण गरेपछि उनीहरुलाई ठूलो राहत मिलेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!