नेपाल टेलिकमका सबै रिचार्ज कार्ड अब ‘नमस्ते रिचार्ज’ ब्राण्डमा

Posted on: 31 Jul, 2018

साउन १५, काठमाडौ। नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्राण्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने जनाएको छ ।

कम्पनीले ५०, १००, २००, ५०० र १००० रुपैयाँ दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ । रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ । नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवाहरुमा रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले हाल रिचार्ज कार्ड बाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले बिज्ञप्ति मार्फत जनाएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!