सकिएको एसईई र संवेदनहीन विद्यार्थी (भिडियो सहित)

Posted on: 02 Apr, 2018

“बर्दिया जिल्लाको सदरमुकाम नजिकै रहेको कुनै केन्द्रमा परीक्षा सकिएलगत्तै विद्यार्थीहरुले देखाएको हर्कत र चरित्रले जो कोहीलाई पनि अचम्मित बनाएको मात्रै हैन, गम्भीर पनि बनायो । यस्तो दृश्य कसैले देख्ने कल्पना सम्म पनि गरेका थिएनन् । वरपर त्यस्तो दृश्य देख्ने अभिभावकहरु त छक्क परेकै थिए भने विद्यार्थीहरु समेत अचम्मित हुँदै भन्दै थिए, ‘त्यो कलम, क्याल्कुलेटर, डप्टीले के विगार गरेका थिए र दोष त आफैलाइै पो दिनुपर्ने ।”

– प्रभात सुवेदी 

अबत यस्तो महशुस हुन थालिसक्यो कि नेपालको शिक्षा प्रणाली र पाठ्यक्रम नै वर्तमानका बालबालिकाहरुका लागि अभिशाप पो भैरहेछ । विद्यालय जानु, कक्षामा बस्नु, पढ्नु, गृहकार्य गर्नु यी सबै कार्यहरु विद्यार्थीहरुका लागि चरम बोझ सावित भैरहेको छ । नहोस् पनि त कसरी ? उनीहरुलाई न त कुनै तनाव छ, न त कुनै मिहिनेत नै गर्नु परेको छ । खाली अभिभावकहरुलाई घुक्र्याएको भरमा जे भन्यो त्यही माग पूरा भैरहेकै छ । अनि किन चाहियो अब विद्यालय ? किन बस्नुपर्यो कक्षाकोठामा कैदी जस्तो भएर अनि किन दिनु पर्यो परीक्षाहरु ? यस्तै यस्तै सोचहरुका कारणले गर्दा पनि आजका बालबालिकाहरुमा एक खालको फरक संवेदना पैदा भएको अवस्था छ । 

भर्खरै मात्र २०७४ सालको एसईई परीक्षा सकिएको छ । पढ्ने, मिहिनेत गर्ने अनि सुन्दर भविष्यको सपना बुनेर आफ्नो लक्ष्ग्यमा अगाडि बढ्ने केहीलाई प्रेरणा दिइरहेको यो परीक्षा पछिल्लो समयमा हेर्दा प्रमाणपत्र धारण गर्ने एउटा औपचारिकता मात्रै बनेको पो हो कि जस्तो देखिन थालेको छ । शिक्षा क्षेत्र कमजोर र गुणस्तर भएन भन्ने एकातिर छ भने अर्कातिर गुणस्तरीय शिक्षा बनाउने निहुँमा शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाउनेहरुको पनि कमी छैन यो समाजमा । न त कुनै नीति नै स्पष्ट छन् न त विद्यार्थीहरुको मनोभावनाको कदर नै गरेको छ यो शिक्षाले । बाहिरबाट गफ हाँक्न जति सजिलो छ, त्यत्तिको सजिलो कक्षाकोठामा आजभोलिका विद्यार्थीहरुलाई अध्यापन गराउने शिक्षकहरुलाई पक्कै पनि छैन । 

दिनानुदिनको यो विकृत समाजको विकृत मानसिकताको प्रतक्ष्य परावर्तित व्यवहारहरु आम विद्यार्थीहरुमा देख्न पाइन्छ । यसको उदाहरण तस्वीरमा पनि देखाइएको छ ।

बर्दिया जिल्लाको सदरमुकाम नजिकै रहेको कुनै केन्द्रमा परीक्षा सकिएलगत्तै विद्यार्थीहरुले देखाएको हर्कत र त्यो चरित्रले जो कोहीलाई पनि अचम्मित बनाएको हैन, एकपटक गम्भीर पनि बनायो । यस्तो दृश्य कसैले देख्ने कल्पना सम्म पनि गरेका थिएनन् । वरपर त्यस्तो दृश्य देख्ने अभिभावकहरु त छक्क परेकै थिए भने विद्यार्थीहरु समेत अचम्मित हुँदै भन्दै थिए, ‘त्यो कलम, क्याल्कुलेटर, डप्टीले के विगार गरेका थिए र दोष त आफैलाइै पो दिनुपर्ने । अझ त्यति मात्रै कहाँ हो र मानव सभ्यतासँग गाँसिएको वस्त्र जुन आफ्नो लाज शरम छोप्न मात्रै हैन आफूले लगाएको लुगाले मानिसको व्यक्तित्वको चिनारी समेत दिने गर्दछ, त्यही लुगा च्यातेर फाल्दै थिए परीक्षार्थीहरु परीक्षा सकिएको खुशीयाली हो वा विग्रीएको झोकमा वा अवदेखि यसरी कहिल्यै पनि परीक्षाहरु दिनु पर्दैन भनेर हो ? 

यसरी फालेका लुगाकपडाहरु, परीक्षाका सामग्रीहरु बाटोभरी यत्रतत्र देख्नेहरु भन्दै थिए, ‘हरायो अब सस्कार हरायो,’ बाबुआमा विदेश वा घरबाहिर, छोराछोरी फेसबुक अनि विभिन्न कुलत र कुसंस्कारमा । जब यस्ता दृश्यहरु आँखामा परे, मलाई लाग्यो, कि यस्ता जनशक्ति उत्पादन गर्नमा, को दोषी हो ? के हाम्रो शिक्षा प्रणाली दोषी हो ? कि त यसमा दोषी विद्यालय हो वा शिक्षक नै ? जो आफ्ना सन्तानहरुसँगै बस्दैनन्, कि तिनै अभिभावकहरु हुन् त दोषी ? वा यो समाज ? आखिर यो दोष कस्को ? एकछिन् आफै गम्भीर भएर सोच्न वाद्य भएँ र यो सोचाइलाई धेरै लामो समयसम्म रहन नदिइकन विद्यालय वा विद्यार्थीहरुको नाम र उनीहरुको तस्वीर बाहेक कृयाकलाप झल्किने तस्वीरहरु फेसबुमा पोस्ट गरेँ । 

यसरी पोस्ट गर्दा मैले धेरै पटक सोचेकै हो । पोस्ट मात्रै हैन कि मिलेसम्म र फेसबुकले अनुमति दिएसम्म अरु ४९ जनालाई समेत ट्याग गरेँ । एकदिनसम्म त्यसको प्रतिकृयाका लागि पर्खेर बसेँ र आज यसरी यो लेख तयार गर्न बसेको छु । यो आलेखले पक्कै पनि आम अभिभावकहरु र सम्बद्ध सरोकारवालाहरु सबैलाई एकपटक गम्भीर भएर सोच्न वाद्य गराउने छ भन्ने विश्वास छ । 

केही तस्वीहरु, फेसबुक स्टाटस यसरी लेखेर पोस्ट गरे:

 


आदरणीय अभिभावक, शिक्षक, प्रधानाध्यापक, शैक्षिक निकायका व्यक्तित्वज्यूहरु, यसमा कसको दोष छ मलाई थाहा छैन तर गुलरियाको कुनै केन्द्रबाट एसईई सकेर निस्केका भाइबहिनीहरुले यस्तो हर्कत गर्नुलाई तपाईंको अन्तरमनले के भन्छ ? कृपया हेरेर मात्रै नबस्नुहोला, हजुरको एक कमेन्टले यस्ता प्रवृत्ति फेरि हुन नदिनका लािग सचेत गर्दछ । 

यसरी लेखिसकेपछि यसमा आएका प्रतिकृयाहरु मिश्रित खालका थिए भने धेरैको जोड आजका बालबालिकाहरुमा संस्कार र सभ्यताको अभाव भैरहेको छ भन्ने निश्कर्ष थियो । 

झण्डै दुई सय बढीको प्रतक्ष्य र अप्रत्यक्ष टिप्पणीहरु आए । जसमध्ये केही टिप्पणीहरुलाई यसमा जस्ताको तस्तै राख्न मन लाग्यो, दयाराम भारद्धाज कुनै स्कुल विशेषको नाम लिँदै लेख्नुहुन्छ, हामीले कस्तो संस्कार दियौँ भन्ने विषय मुख्य हो जस्तो लाग्छ । यसैगरी अयोध्याप्रसाद श्रीवास्तवले राम्रो संस्कार नपाएरै होला भनेर टिप्पणी गर्नुभएको छ भने टोपराज एलसीले तपाईंले देखेर पनि चुप लागेर बस्नुभयो भन्दै यो पंक्तिकारलाई नै तीर सोझाउनुभएको छ र वहाँकै अर्को टीप्पणीमा भने हामीले पछाडि कुरा गरेर केही हुने वाला छैन र सबै मिलेर नै लाग्नु पर्छ भन्नुभएको छ । धनवीर लिम्बु सुब्बा योङ्गहाङ्गले भने गाउँघर समााजको राम्रो संस्कार नपाएको र नैतिकता नबुझेकोहरुले मात्र यस्तो गरेका हुन् भन्नुभएको छ । यसैगरी महेन्द्र पौडेलले हामीले कस्तो विद्यालयमा आफ्ना नानीबाबुलाई अध्ययनका लागि पठाएका छौं र त्यहाँबाट कस्तो संस्कार र शिक्षा दिएका छौं, त्यसैको परिणाम हो भन्नुभएको छ । यसैगरी अर्को टिप्पणीमा सुरेन्द्र शर्मा गौतमले संस्कार विद्यालयले भन्दा पनि घरबाट नै दिइन्छ भन्ने कुरा नभुल्नको लागि आग्रह गर्नुभएको छ । 

यमनाथ पौडेलको टिप्पणी छ, विद्यार्थी बाँदर भएपछि कस्को दोष छ र संस्कार सिकाउन नसक्नुमा अभिभावक र विद्यालय पनि दोषी देखिन्छ । अर्जुन थारुले अब पढ्न नचाहेर यस्तो गरेको हुन सक्ने भन्नुभएको छ भने गोपाल सुवेदीले यो पोस्टले गम्भीर भएर सोच्न वाद्य गराएको कुरा उल्लेख गर्नुभएको छ । यसैगरी निकै संवेदनशील तरीकाबाट देवेन्द्र प्रसाद उपाध्याय लेख्नुहुन्छ, ‘बालकको निमित्त परिवार पहिलो पाठशाला हो, यसैले संस्कारको शुरुवात पहिला घरबाट हुन्छ त्यसपछि विद्यालयको अनुशासन कस्तो छ त्यसतर्फ ध्यान दिनै पर्छ भन्नुभएको छ । यसैगरी गौरी सापकोटाले धेरै विद्यार्थीहरुले अवश्य राम्रो सिके होलान् कसै कसैमा यो समस्या देखिनु केही कारण हुन सक्छ हामी शिक्षकले अनुसन्धान गर्नु पर्दछ भन्नुभएको छ । भीम प्रसाद पौडेलको अभिमत भने दुईचार जना बाँदर स्वभाव भएकाले गर्छन्, यो कुनै नौलो कुरा होइन भन्नुहुँदै स्वभाविक रुपमा लिन अनुरोध गर्नुभएको छ भने अधिकारी सागर सबिता सबलले यो हाम्रो भद्रगोल समाजको परिणाम हो भन्नुभएको छ । यसैगरी प्रेम बहादुर बुढाले यसलाई अराजकताको परिणाम भन्नुहुँदै राम राम राम भन्ने हो, लेख्नुभएको छ । च्यामु चौधरीले यो नराम्रो व्यवहार भएको टिप्पणी गर्नुभएको छ । प्रतिकृयाकै क्रममा यादव रेग्मीले संसार यस्तै हो, म. वि. वि. शाहको सन्तान थरीथरीका भन्ने कविता त्यसै फुरेको होइन होला, सबै कुरालाई सामान्य मानेर जीउन कोशीष गर्नु नै वेश होला भन्नुभयो । भरत रानाभाट लेख्नुहुन्छ, अनुशासन नभएका छाडा साँढे हुन्, यिनीहरुका कर्मले नै भोलि यिनै ठगिने छन् तर विद्यालयले पनि कडा निगरानी गर्नु पर्दैैन र ? मोहनसिंह थापाले यस प्रवृत्तिलाई नराम्रो भनेर टिप्पणी गर्नुभएको छ । संसारमा धेरैले अरुको दोष देख्ने प्रवृत्ति रहेको भीम रिजालले औल्याउनुभएको छ भने  भानु भट्टराईले त्यो कपडा विद्यार्थीको हो कि शिक्षकको हो कुरै बुझ्न सकिएन भन्दै व्यङ्गयात्मक टिप्पणी गर्नुभएको छ । एल के सोनीले अध्ययनलाई यस्ता विद्यार्थीहरुले बोझको लिनुको परिणाम हो भन्नुभएको छ भने सबै अभिभावकहरुले खबरदारी र निगरानी गर्नुपर्नेमा जोड दिनुभएको छ । किङ रावल नाम हुनुभएका साथीको प्रतिकृयामा यो के को नतिजा होला भन्नुभएको छ भने कृष्ण कँडेलले यो विचलनको पराकाष्टा भएको धारणा राख्नुभएको छ । कमल भट्टराईले फेरि यस्तो परीक्षा कहिल्यै पनि दिन नपरोस् भनेर त्यसो गरेका होलान् भनी टिप्पणी गर्नुभएको छ । यसैगरी रेशम विसीले यो गलत कार्य भएको, दिलराज वश्यालले सिकाइ र व्यवहारिक जीवनमा धेरै अन्तर भएको सोच्दै यस्तो व्यवहार देखाइरहेका छन् जसमा समाजकै प्रतक्ष्य वा अप्रत्यक्ष भूमिका रहेको उल्लेख गर्नुभएको छ । हिरा बहादुर सोमैको टिप्पणी छ, यो उमेरमा यस्तै हो यसको नतिजा पछि मात्रै थाहा हुन्छ ।  यसैगरी खगेश्वर गौतमले यसमा हामी सबै जिम्मेवार छौँ भन्नुहुँदै लेख्नुहुन्छ, ‘यसका लागि हामी सबै सकारात्मक परिवर्तनका लागि लाग्नुपर्ने कुरा  औंल्याउनुभएको छ ।’ विष्णु पनेरु लेख्नुहुन्छ, ‘किताब मात्रै पढाउने शिक्षाले यस्तै जमात तयार हुन्छ ।’ अमृता गौतमले यो पोस्टको कुरा नै नबुझेर यो भएको चाहिँ के हो त स्पष्ट कुरो नबुझिएको लेख्नुभएको छ भने आशिष शर्माले कायरता र आफैप्रतिको अविश्वास भन्नुभएको छ । यसैगरी आरपी शर्मा लामिछानेले अभिभावकको निगरानी भन्दा बाहिर भएका र वर्तमान युवामा हावी भएको वर्तमान संस्कारको उपजको रुपमा लिनुहुँदै यदि आजका युवा यस्तै हुनुमा समाजको पनि उत्तिकै दायित्व भएकाले समाजबाट नै सहि मार्ग निर्देश गर्नुपर्ने उल्लेख गर्नुभएको छ । धर्मानन्द भट्टले विग्रेका विद्यार्थीहरुले यस्तै गर्ने तर अनुशासित विद्यार्थीहरुले यस्तो व्यवहार गर्दैनन् भन्नुहुँदै अनुशासन र सदाचारमा जोड दिनुभएको छ । 

यसमा टिप्पणी गर्नुहुनेहरुमा प्रधानाध्यापक, शिक्षक, शिक्षाविद, मनोविद, कवि, कलाकार, विद्यार्थीहरु, अभिभावकहरु, साहित्यकारहरु लागायत विभिन्न क्षेत्रहरुको प्रतिनिधित्व गर्ने दिग्गज व्यक्तित्वहरु हुनुहुन्छ । वहाँहरुको भनाइको एउटै सार यो हो कि, आजका बालबालिकाहरुमा संवेदनशीलता हराउँदै गएको छ र संवेदनहिनताले जरो गाडिरहेको छ । अनुशासनको घेरा तोडिएको छ, संस्कार हराउँदै गएको छ, उग्रताले उनीहरुलाई खर्लप्पै ढोकेको छ । यस्तो अवस्थामा अब हामीले केही सोच्ने हो कि यत्तिकै दुई चार जना यस्तै हुन्छन् वा यो कुनै नौलो कुरा होइन भनेर चुप लागेर बस्ने हो ? अब पनि सोचिएन भने परीक्षा केन्द्रहरुमा यत्ति मात्रै हैन अर्को वर्षदेखि आगो लगाउन पनि बेरै हुन्न । किनकी अहिलेको यस्तो प्रवृत्ति समेत प्रहरी प्रशासनल टुलुटुलु हेरेरे बस्न वाद्य भयो भने आगमी दिनमा झन के के हुने हो ? गम्भीर हुनै पर्दछ । 

शिक्षाविदज्यूहरु, अब शिक्षकले पढाएनन् भन्नेतर्फ यहाँहरुको अध्ययन केन्द्रित नहोस्, अब यहाँहरुले भन्न सक्नु पर्छ अभिभावकले पढाएनन् समाजले पढाएन वा सिकाएन । संस्कारित विद्यार्थीहलाई मात्रै विद्यालयमा पढाउन वा सिकाउन सकिन्छ तर असभ्य र कुसंस्कारीलाई घरबाटै वा समाजबाटै बोकेर विद्यालयको गेटबाट पस्ने विद्यार्थीहरुलाई न त विद्यालयले केही गर्न सक्छ न त शिक्षकले नै !

तसर्थ, यस्ता विद्यार्थीहरुबाट यो समाजले के पाउने हो ? के उपलब्धी हासिल हुने हो खै ? भन्न र अनुमान गर्न पनि गाह्रो छ । लाखौं लगानी गरेर पढाएका आफ्ना सन्तानहरु असल भएनन् भने लगानी त खेरै गयो गयो, यसका साथमा आफ्नो इज्जत र प्रतिष्ठा पनि गुमाउनु पर्दाको क्षण के होला सोच्नै पर्दछ । 

यस्ता कुराहरुलाई आज छाडिदिउँ, भोलि छाडिदिउँ, पर्सी छाडिदिउँ अनि निके पर्सी के गर्ने हो त ? यो प्रश्नको जवाफ यहाँहरुलाई नै जिम्मा छाड्दै अहिलेलाई यत्ति नै अस्तु । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!