भरतपुर–१९ मा फरक शैलीमा प्रचार सुरु

Posted on: 09 Jun, 2017

जेठ २६, चितवन । भरतपुर महानगरपालिका–१९ मा पुनःनिर्वाचन नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक–फरक शैलीमा निर्वाचनको प्रचार–प्रसारमा जुटेका छन् ।

निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।

आदेश जारी भएपनि नेपाली कांग्रेस र माओवादी केन्द्र पुनः मतदान हुने भन्दै घरदैलो अभियान र चुनावीसभामा जुटेका छन् ।

नेकपा एमालेले भने मतपत्र च्यात्नेविरुद्धमा जनचेतना अभियान भन्दै घरदैलो गरिरहेको छ । सो वडाका चार स्थानमा कांग्रेस र माओवादीले संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचार–प्रसारमा जुटेका छन् ।

सो वडाका माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन् ।

ती दुई पार्टीले प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार दाहाल र अन्य पदमा कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति गरी निर्वाचनमा जुटेका हुन् ।

एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले पत्र बनाएर मतदाताको घरघरमै पुगेर धन्यवाद ज्ञापन गर्दै मतपत्र च्यात्नेकाबारेमा मतदातालाई जानकारी गराउने काम भइरहेको बताए ।

उनले भने–‘हामी मतगणना हुन्छ भन्नेमा नै छौं, मतदातालाई तपाइँको मतपत्र च्यात्ने यो हो भनेर बुझाउने काम भइरहेको छ ।’

‘आफूले दिएको मत कसले च्यात्यो ?’ त्यो जान्ने अधिकार जनतालाई भएकाले मतपत्र च्यात्नेविरुद्धको जनचेतनामूलक अभियानमात्रै गरिएको उनले बताए ।

एमाले कार्यकर्ताले मतपत्र माओवादीले च्यातेकाले फेरि चुनाव भएमा उनीहरुलाई मत दिन नहुने सन्देश मतदाताकहाँ पुर्‍याएको पाइएको छ ।

तीनै दल निर्वाचन भएमा आ–आफ्नो पक्षमा मतदान गर्न प्रचारमा जुटेका हुन् । गएको जेठ १४ गते राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० ओटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो । भरतपुर महानगरमा २९ ओटा वडा छन् ।

जसमध्ये वडा नम्बर–१९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । योसहित वडा नम्बर–२० कोमात्र मतगणना गर्न बाँकी छ ।

दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहेका थिए ।

वडा नम्बर–१९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!