देवघाट मेलाका लागि नारायणगढ–मुग्लिन सडक एक दिनका लागि खुला

Posted on: 13 Jan, 2017

पुस २९, चितवन । हरेक दिन नियमित १०: ३० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर भोलि एकदिन खुला रहने भएको छ । 

यहाँ आज साँझदेखि भोलि दिनभर मेला लाग्छ । मेलामा टाढाटाढाबाट भक्तजन आउने भएकाले उनीहरुको हितलाई ध्यानमा राखेर भोलि माघ १ गते सडक खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । 

सो सडकको विभिन्न स्थानमा पुनःनिर्माण भइरहेकाले दिउँसो बन्द गरेर काम हुँदै आएको छ । 

निर्माणाधीन सडक आगामी बैशाखमा सक्ने लक्ष्य छ । विश्व बैंकको सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजना सञ्चालित छ । 

उक्त आयोजनाको लागत रु दुई अर्ब ९० करोडको छ । तीन चरणमा छवटा निर्माण कम्पनीले काम गरिरहेको छ । यो सडक साढे ९ देखि साढे ११ मिटरमा विस्तार हुनेछ । अहिलेसम्म ५० प्रतिशत काम हुनुपर्नेमा ३३ प्रतिशतमात्रै काम भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । 

देवघाट पुलमा एक पटकमा एक सयजना मात्रै प्रवेश 

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलाका बेला हुने सम्भावित खतरालाई ध्यानमा राखी यहाँ रहेको पुलमा एकपटकमा करिब एक सयजनालाई मात्रै प्रवेश दिइने भएको छ । 

त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर एकपटकमा सयजनालाई मात्रै आवतजावत गर्न दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । 

मकर सङ्क्रान्तिका दिन चितवन, नवलपरासी र तनहुँमा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गम त्रीवेणमा माघेसङ्क्रान्ति मेला लाग्छ । मेलाको तयारी पूरा भएको देवघाट क्षेत्र विकास विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!