चितवनमा नारायणी नदीमा डुबेर एक युवक बेपत्ता एकको उद्धार

Posted on: 14 Apr, 2019

बैसाख १, चितवन । नयाँ वर्षमा घुम्न आएका एक युवक आज बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ । गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आज बिहान १०ः२० बजेतिर भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा नुहाउने क्रममा दुई जनालाई नदीले बगाएको हो । बुटवलबाट तीन जना युवक नयाँ वर्षमा घुम्न आउने क्रममा नदीमा नुहाउँदा बगाएको प्रहरीले जनाएको छ ।

देवघाटमा भक्तजनको घुइँचो 

नयाँ वर्षका अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा स्नानसँगै पूजाआजा गर्नेको घुइँचो लागेको छ । बिहान सबेरैदेखि विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम जारी छ । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बिहान ५ नबज्दैदेखि भक्तजनको घुइँचो लागेको बताउनुभयो । पौडेलका अनुसार शनिबार राजधानीसहित विभिन्न जिल्लाका भक्तजन देवघाटमा बास बस्ने गरिआएका थिए । दश वर्षअघि सम्म नयाँ वर्षमा सुनसानजस्तो देखिने देवघाट पछिल्ला वर्षमा मेला लागेको जस्तो गरी भक्तजन आउने गरेको उहाँले बताउनुभयो । 

पौडेलका अनुसार एक लाखभन्दा बढी भक्तजन भित्रिने अनुमान गरिएको छ । दिउँसो २÷३ बजेसम्म भक्तजन आउने उहाँले बताउनुभयो । देवघाट आएका भक्तजनले वेणीमा स्नान गर्ने, मठमन्दिरमा दानपुण्य गर्ने, ग्रह शान्ति गर्ने, शुभकार्य गर्ने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । कतिपय नयाँ वर्षमा रमाइलाका लागि पनि देवघाट आएको उहाँले बताउनुभयो । आफ्नो वर्षभर नै शुभ कल्याण होस् भनेर देवघाट आउने बढेको घिमिरेले बताउनुभयो । बिहान सबेरैदेखि आँपटारीदेखि देवघाटसम्म सवारी साधन र पैदल यात्रीको चाप बढेको उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!