म्याग्दीबाट एकै वर्षमा ४५ करोडको आलु निकासी

Posted on: 24 Oct, 2016

कात्तिक ८, म्याग्दी । पहाडी जिल्ला म्याग्दीबाट एक वर्षमा रु ४५ करोडको आलु निकासी भएको छ । 

आव २०७२/७३ मा जिल्लामा उत्पादन भएको आलुमध्ये ११ हजार ७६१ मेट्रिक टन आलु जिल्ला बाहिर निकासी गरी कृषकले रु ४५ करोड आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

जिल्लाका विभिन्न गाविसमा उत्पादन भएको आलु कृषकले पोखरा, काठमाडौँ, कुश्मा, बागलुङलगायतका स्थानमा पुर्याएर बिक्री गरेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो । 

जिल्लामा हिउँदे र बर्खे गरी एक हजार ६१५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै  आएको छ । जिल्लाभर वर्षभरिमा कुल १६ हजार पाँच ७६ मेट्रिक टन आलु उत्पादन भएको थियो । त्यसमध्ये चार हजार ८१५ मेट्रिक टन आलु जिल्लाभित्र खपत भए पनि बाँकी आलु यातायातका साधनमार्फत ढुवानी गरी जिल्ला बाहिर निर्यात गरिएको हो । 

अघिल्लो वर्ष एक हजार ६०५ हेक्टरमा गरिएको आलुखेतीबाट १५ हजार ९०० मेट्रिक टन आलु उत्पादन भएकामा यो वर्ष शून्य दशमलव ६ प्रतिशतले उत्पादनमा वृद्धि भएको कार्यालयकी योजना अधिकृत ज्योति क्षेत्रीले जानकारी दिनुभयो । 

कृषकहरु व्यावसायिक बन्नु, उन्नत जात भित्रनु, पुरानो खेती प्रविधि आधुनिकीकरण बन्दै जानु, अनुदानका कार्यक्रम, बीउ आलु भण्डार गृह निर्माण, बजारको पहुँच विस्तारले अन्य बालीको तुलनामा सजिलो र आम्दानी हुने भएकाले आलु खेतीतर्फ कृषकको आकर्षण बढेको अधिकृत क्षेत्रीले बताउनुभयो । 

राम्चे, हिस्तान, शिख, घार, कुहुँ, कुइनेमङ्गले, पाखापानी, मल्कवाङ, गुर्जा, मुदी, मल्कवाङ, चिमखोला, पात्लेखेत, भकिम्लीलगायत ३३ गाविसमा व्यावसायिक आलु खेती हुने गरेको छ । अन्य अन्नबालीको तुलनामा धेरै समय, जनशक्ति र मेहनत नपर्ने तथा बजारमा उच्च माग भएकाले म्याग्दीमा व्यावसायिक आलु खेती गर्ने कृषकको सङ्ख्या बढेको हो । 

कृषकले कुफ्रेज्योतिका साथै दाना ९पिबिएस० र बियाँ बीउ ९टिपिएस० प्रविधिको प्रयोग गरी उन्नत जातका आलुको खेती गरेका छन् । घरायसी उपभोग, आन्तरिक बजार, बीउ आलुका लागि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको जिल्ला कृषि योजना अधिकृत क्षेत्रीले बताउनुभयो । 

आलु खेतीको प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ आलु आत्मनिर्भर कार्यक्रमका साथै सुरक्षित भण्डारणका लागि विभिन्न १० ठाउँमा शीतभण्डार भवन निर्माण गरिएको कार्यालयले जनाएकोे छ । यसैगरी कृषकलाई प्राविधिक तालिमका साथै अनुदानमा बियाँ र दाना बीउ आलु उपलब्ध गराउने गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!