म्याग्दीमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर गाउँमा सडक

Posted on: 10 Nov, 2016

कात्तिक २५, म्याग्दी । म्याग्दीको कुहूँ–१ खानीगाउँका स्थानीयवासीले चन्दा सङ्कलन गरेर गाउँमा सडक पु¥याएका छन् । 

कृषि र पशुपालनमा प्रशस्त सम्भावना भएको खानीगाउँमा सडक नपुगेका कारण आफ्नो उत्पादनले बजार नपाउनुका साथै असुविधा भएपछि स्थानीयवासीले चन्दा सङ्कलन गरेर करिब रु आठ लाखको लगानीमा तीन किलोमटिर सडक विस्तार गरेका छन् । कात्तिक दोस्रो हप्तादेखि गाउँसम्म यातायातका साधन पुग्न थालेपछि स्थानीय हर्षित भएका छन् । 

सडकको असुविधाका कारण सास्ती खेप्नु परेका खानीगाउँका कृषकले यस वर्ष सडक विस्तारसँगै गाउँका कृषिजन्य वस्तु गाउँबाटै बजारमा लैजान पाउने भएपछि उत्साहित भएका छन् । “गाउँमा सडक पुगेपछि व्यावसायिक कृषिखेतीमा लागेका सबै उत्साहित छन् । केही वर्षभित्र कृषिमा पकेट क्षेत्र बनाउने अभियानमा छौँ”, स्थानीय युवा याम बुढाथोकीले भन्नुभयो । 

खानीगाउँमा पशुपालन, सुन्तला, बेसार, केरालगायत कृषिजन्य उत्पादन हुने गरेकोे स्थानीयवासी बुद्धि सापकोटाले बताउनुभयो । “सुन्तला र केराखेतीका लागि धेरे राम्रो छ । गाउँका सबैजसो घर आकर्षित छन्”, सापकोटाले भन्नुभयो । २५ घरधुरी रहेको खानीगाउँमा प्रत्येक घरधुरीमा २५ देखि ५० वटासम्म सुन्तलाका बोट रहेका छन् । गाउँमा किवी, लिची, अनारका बिरुवासमेत विस्तार गरिएको छ । गाउँमा आवश्यक पर्ने सिँचाइको सुविधासमेत रहेको छ । 

शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत आधारभूत आवश्यकतामा राज्यको लगानी अन्य गाउँको तुलनामा न्यून भएको भन्दै राजनीतिक दल, जिविस, सांसदलगायत सरोकारवाला निकायलाई गाउँको विकासमा ध्यान दिन स्थानीयवासीले मागसमेत गरेका छन् । 

कृषिमा आकर्षित भएका खानीगाउँवासीले यस वर्ष देउसीभैलो खेलेर सङ्कलन गरेको रु एक लाख १९ हजारसमेत सडक मर्मत तथा स्तरोन्नतिमा खर्च गर्ने घोषणा गरेका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!