म्याग्दीमा बाढीपीडितको पुनःस्थापनाका लागि तीस लाख जुट्यो

Posted on: 12 Dec, 2016

मंसिर २७, म्याग्दी । जन्मथलोमा बाढीले घरबारविहीन भएकाको पुनःस्थापनाका लागि प्रवासीले रु ३० लाख जुटाएका छन् । बेगखोला–६ का बाढीपीडितको पुनःस्थापनाका लागि बेगखोला कल्याणकारी समाजले सो सहयोग जुटाएको हो । 

रोजगारी, अध्ययन र पेसा व्यवसायका लागि हङकङ, बेलायत, जापान र कोरियामा पुगेका बेगवासीको पहलमा बाढीपीडितको सहयोगका लागि रु ३० लाख जुटाइएको समाजका अध्यक्ष योगकुमार फगामीले जानकारी दिनुभयो । 

सङ्कलित रकम जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटीलगायत निकायसँग समन्वय गरेर बाढीपीडितको पुनःस्थापनाका लागि परिचालन गरिने उहाँले बताउनुभयो । 

विसं २०७३ भदौ १७ गते राती बेगखोलामा आएको बाढीले बेग–६ मा रहेको ११ वटा घर बगाएको थियो । एक जना बेपत्ता भएका थिए । बाढीपीडित हाल अस्थायी टहरामा बस्दै आएका छन् । 

“नगद वितरण गर्दा पीडितको दिगो व्यवस्थापन नहुने भएकाले, घर निर्माण गरेर पुनःस्थापना गराउने सोचेका छाँै” अध्यक्ष फगामीले भन्नुभयो “प्रशासन, पीडित, रेडक्रस र सरोकारवालासँग छलफल गरेर पुर्नवास योजना सञ्चालन गर्छौं ।” 

प्रवासमा रहेका बेगखोलावासी आबद्ध समाजको पहलमा यसअघि विसं २०७० मा बेगखोला–बेग र तिप्ल्याङ–बादुक सडक निर्माण भएको थियो । एघार किलोमिटर सो सडक निर्माण गर्न समाजले रु एक करोड जुटाएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!