म्याग्दीको ताकममा बिशाल ढुङ्गाखानी भेटियो

Posted on: 05 Feb, 2017

माघ २३, म्याग्दी (बेनी) | पश्चिम म्याग्दीको ताकम गाविस–८ मच्छिममा सडक विस्तारका क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । 

जिविस, म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीयवासी उत्साहित भएका छन् । घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आकर्षक ढुङ्गा फेला परेको ताकम सिवाङका गिरिप्रसाद छन्त्यालले बताउनुभयो । 

विगतमा समेत गाउँमा प्रयोग गरिएको भए पनि सडक विस्तारका क्रममा ठूलो स्रोत फेला परेपछि स्थानीयवासी दङ्ग परेको छन्त्यालको भनाइ छ । ढुङ्गा खानी भेटिएपछि स्थानीयवासीले रेशम छन्त्यालको संयोजकत्वमा प्रारम्भिक व्यवस्थापनका लागि समितिसमेत बनाएका छन् । 

स्थानीयवासीले उत्खननसमेत गर्न थालेका छन् । सडक आसपासका लाखौँ मूल्यका ढुङ्गा भेटिएपछि वार्षिक रु १० लाखसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क गरिनेसम्मको प्रस्ताव आएको गाउँलेको भनाइ छ । बस्तीभन्दा टाढा रहेकाले पनि खानी उत्खननमा कुनै असर नगर्ने स्थानीयवासीको भनाइ छ । 

ढुङ्गाखानीलाई व्यावसायिक रुपमा सञ्चालन गरी गाउँमा रहेको भूमे निमावि सञ्चालनसहित गाउँको विकासमा खर्च गर्ने सोचमा रहेको स्थानीयवासीको भनाइ छ । सडकका दुवैतर्फ भेटिएका ढुङ्गाको मुदी, मुना, ताकमलगायत क्षेत्रबाट समेत माग आउन थालेको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!