खोटाङका दैबी प्रकोप पिडित परिवारलाई राहत दिईने, यी ३४ जनाले पाउने

Posted on: 13 Nov, 2017

चिसाङ शेर्पा | कात्तिक २७, खोटाङ | खोटाङमा दैवी प्रकोप सहयोग अक्षयकोषले जिल्लाका ३४ दैबी प्रकोप पिडित परिवारलाई राहत प्रदान गर्ने घोषणा गरेको छ । खोटाङ समाज हङकङले स्थापना गरेको कोषले  आगलागी, चट्याङ, बाढि पहिरो, हावाहुरी लगायतका प्राकृतिक विपत्तीमा परेका जिल्लाका पिडितको सहयोगार्थ २०७३ सालमा स्थापित विपद कोषले यस वर्षदेखि राहत दिने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७३/०७४ भित्र भएका प्राकृतिक विपत्तीमा जनधन गुमाएका पिडितलाई राहत स्वरुप २ लाख ४० हजार प्रदान गर्न लागिएको कोष सञ्चालक समितिका अध्यक्ष भोगेन एक्लेले बताए । रोजगारीका सिलसिलामा हङकङमा पुगेका खोटाङ्गे युवाले स्थापना गरेको २० लाखको अक्षय कोषबाट जिल्लाका दुई नगरपालिका र आठ वटै गाउँपालिकाका प्रकोप पिडितलाई क्षतीको आधारमा राहत वितरण गरिने जनाइएको छ । छानिएका पिडित परिवारलाई मंसिर ४ गते दिक्तेलमा कार्यक्रम गरेर राहत वितरण गर्ने जानकारी दिइएको छ । 

जिल्ला दैबी प्रकोप उद्धार समितिको तथ्यांकका आधारमा ५ लाखभन्दा कम क्षती भएका २३ परिवारलाई प्रतिपरिवार ५ हजार, ५ लाखदेखि १० लाखभन्दा कम क्षती भएका ८ परिवारलाई प्रतिपरिवार १० हजार तथा १० लाखभन्दा बढि क्षती भएका ३ परिवारलाई प्रतिपरिवार १५ हजारका दरले राहत दिइने कोष सञ्चालक समितिले जनाएको छ । 

विपत्तीमा परेका सर्वसाधारणको सहज जीवनयापनका लागि खोटाङ समाज हङकङका तत्कालिन अध्यक्ष तेजप्रकाश राई अधिराजको पहलमा हङकङमा विपद कोष स्थापना भएको हो । बार्षिकरुपमा आउने व्याजमध्ये ७५ प्रतिशत रकम पिडितलाई वितरण गर्नेगरी अक्षय कोष स्थापना गरिएको हो । आगामी दिनमा प्राकृतिक विपत्तीमा परेका नागरिकलाई तत्काल राहत दिनेगरी काम गर्ने कोष संस्थापक एबं समाजका पुर्वअध्यक्ष राईले बताए । 

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, दिक्तेल, खोटाङ


यस बिषयमा तपाइको प्रतिक्रिया...!