मान्ममा जिल्लास्तरीय सिकाइ मेला

Posted on: 22 Dec, 2017

पुस ७, कालीकोट | कालीकोट जिल्लामा विद्यार्थीहरुका लागि सिकाई मेला सुरु गरिएको छ । स्थानीयस्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम् उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरीय सिकाई वातावरणको निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले सिकाई मेला आयोजना गरिएको हो ।

युनिसेफ र विश्व शिक्षाको सहयोग र जिल्ला शिक्षा कार्यालय कालीकोट, जिल्ला प्रशासन कार्यालय कालिकोट, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय कालिकोट, जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको समन्वय तथा जिल्ला समन्वय समिति, राष्कोट नगरपालिका, र खाँडाचक्र नगरपालिकाको आयोजना तथा किर्डाक नेपाल कालीकोटको सहजीकरणमा जिल्ला स्तरीय शैक्षिक प्रर्दशनी तथा सिकाई मेला गरेको हो ।

मान्ममा रहेको जिल्ला समन्वय समितिको प्राङगणमा प्रदर्शन गरिएको सिकाइ मेलामा स्थानीयस्तरमा पाईने र पैसा नपर्ने सामाग्रीबाट बनाइएका विभिन्न शैक्षिक सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ । मेलामा स्थानीय सामाग्रीबाट बनाइएका १ हजारभन्दा बढी सामाग्री बनाएर प्रदर्शन गरिएको छ । मेलामा विभिन्न १८ वटा विद्यालयले आफ्ना विद्यालयमा तयार गरिएका शैक्षिक सामाग्रीहरु प्रदर्शन गरेका हुन् ।


सिकाइ मेलामा स्थानीय स्तरमा विद्यालयका शिक्षक शिक्षिकाहरुले बनाएका शैक्षिक सामग्री समेत प्रदर्शन गरिएको छ । जिल्लाका ६ वटा विद्यालय सहभागी भएको मेलामा प्रारम्भिक तहका बालबालिकाहरुले बनाएका सामाग्रीहरुको कार्यक्रममा सहभागी रहेका अतिथीहरु अवलोकन गरेका छन् । शुक्रबार भएको सिकाइ मेलामा जिल्लाको शैक्षिक अवस्था नाजुक हुँदै आएकोले यसलाइ सुधार गर्न सहयोग पुग्ने बताइएको छ ।

मेला उद्घाटन गर्दै प्रतिनिधिसभा साँसद दुर्ग रावतले बालबालिकाहरुलाई पढाइ मात्र नभई उनीहरुलाई स्थानीयस्तरमा बनाइने शैक्षिक सामाग्रीहरु प्रयोग गरी उनीहरुको ज्ञान र सीपलाइ अभिवृद्धी मेला सहयोगी बन्ने विश्वास गरे । उनले जिल्ला स्तरीय सिकाइ मेलामा आएका विद्यार्थीहरुको कला, सीप र क्षमतामा बिकास गर्ने बताए ।

सिकाइ मेलामा नेपाली र गणित विषयसंग सम्वन्धित शैक्षिक सामग्री प्रर्दशनी विभिन्न खेलहरुको प्रदर्शनी, पढाइ सिकाइसंग सम्वन्धित शैक्षिक सन्देश मुलक क्रियाकललाप, नाटक, नृत्यलगायतका प्रतिभाहरु विद्यार्थीहरुले प्रस्तुत गरेका छन् । मेला जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!