फोक्सिङटारमा बेलिबृज जडान, दिक्तेल र पुर्बी तराईसम्म सिधा यातायात शुरु

Posted on: 24 Dec, 2017

चिसाङ शेर्पा | पुस ९, खोटाङ | नदीमा पानीको बहाव घटेपछी खोटाङ सदरमुकाम दिक्तेलबाट उदयपुरको गाईघाट र पुर्बी शहर जोड्ने फोक्सिङटारमा अवस्थित सुनकोशी नदीमा अस्थाई बेलिबृज जडान कार्य सकिएको छ । आर्थिक वर्ष २०५१/०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज जडान गरिएसँगै शनिबारदेखि जिल्लाबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने सिधा बाटो खुलेको छ ।

हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी १५ दिन अघिदेखिे बेलिबृज जडान कार्य शुरु गरिएको थियो । फोक्सिङटारमा ५० मिटर लम्बाई र ५ मिटर चौडाई भएको बेलिब्रिज जडान कार्य सकिएछि दिक्तेल गाईघाट सडकखण्डमा यातायातका साधन सञ्चालन शुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका इन्जिनियर कमलप्रसाद यादवले बताए । 


सुनकोशी नदीमा स्थायी पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा दिक्तेल गाईघाट सडकखण्डमा वर्षायाममा यातायात सुचारु नहुने हुनाले वर्षमा सात महिना उक्त सडकखण्ड बन्द हुने गर्छ । हिउँदमा पाँच महिना सुनकोशी नदीमा बेलिबृजको जडानपछि मात्र यातायात सञ्चालन हुने हुनाले बेलिबृजको भरपर्दै आउनु परेको यातायात व्यवसायीहरु बताउँछन् ।

सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र ईन्द्रावतिगरि पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङटारमा अस्थायी बेलीब्रिज सञ्चालन भएपछि जिल्लाबाट यातायातका सवारी साधन छुटाउन थालिएको यातायात व्यवसायी संघ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!