'वाइडबडीमा ६ अर्ब ५९ करोड घोटाला, २ अर्ब ४० करोड कमिशन पनि गायब' - लेखा समिति

Posted on: 25 Nov, 2018

मङ्सिर ९, काठमाडौँ | संसदको सार्वजनिक लेखा समितिको आइतवार बसेको बैठकले जहाज खरिदमा ६ अर्ब ५९ करोड घोटाला गरेको मात्र नभई २ अर्ब ४० करोड कमिशन पनि गायब पारेको निचोड निकालेको छ । 

समितिका सभापति भरत साहले नेपाल वायु सेवा निगमका दुई वाइडबडी ल्याइँदा भएको घोटालाबारे सरकारसँग जबाफ मागेका छन् । साहले दुई वाइडबडी ल्याउँदा उठेका प्रश्नहरुको फेहरिस्त बैठकमा प्रस्तुत गर्दै क्रेताको कमिशन नै गायव गरिएको उल्लेख गरेका छन् । 

उनले हवाई उत्पादकहरुले १० प्रतिशत कमिशन क्रेतालाई दिने गरेको भन्दै २४ अर्बको खरिदमा नेवानिलाई आउनुपर्ने कमिशन २ अर्ब ४० करोड गायब पारेको बताएका छन् । उनका अनुसार कमिशन, अधिकतम उडान भार कटौती र मूल्यान्तर गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको देखिएको छ । 

नेवानिसँग समितिले जहाज ल्याउने क्रममा सीधै एयरबससँग कुरा नगरी फर्जी कम्पनीमार्फत गरिएको सम्झौतामा प्रश्न उठाएको छ । लेखाले निमगले किनेका जहाजको पनि व्यवस्थापन नगरेको र संस्थाको सञ्चित घाटा चुलिँदै गएकोमा पनि चिन्ता जनाउँदै ३३ अर्ब भन्दा धेरै ऋणमा डुब्नुको कारण पनि सोधेको छ । लेखाले जहाज ल्याउने क्रममा सीधै एयरबससँग कुरा नगरी फर्जी कम्पनीमार्फत ल्याउने कामबाटै फर्जी कामको सुरुवात भएको जनाएको छ । 

लेखा समितिले वाइड बडी खरिद सन्दर्भमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट भएको छानबिनमाथि पनि प्रश्न उठाएको छ । छानबिन समितिका सदस्यहरु निगम सञ्चालक समिति सदस्य र खरिद प्रक्रियामा सहभागी व्यक्तिहरु नै रहेको लेखा समितिले बताएको छ । 

लेखाले पर्यटन मन्त्रालयका सचिव नै अध्यक्ष रहेका बेला वाइड बडी खरिदका लागि अर्बौ रकम निगमले बिक्रेता पक्षलाई भुक्तानी गरेको भन्दै खरिद प्रक्रियाका सम्बन्धमा सचिवसँग पनि धारणा माग गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!