बाजुरा : जगन्नाथका सबै वडा जोडिए सडक सञ्जालमा

Posted on: 28 Apr, 2019

वैशाख १५, बाजुरा । बाजुराको उत्तरपूर्वी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकाका सबै वडाहरु सडक सञ्जालसँग जोडिएका छन् । दुर्गम गाउँपालिकाका रूपमा रहेको सो गाउँपालिकाका पाँच वटै वडामा सडक सञ्जाल जोडिएका हुन् । सबै वडामा सडक जोडिएपछि स्थानीयवासी खुशी भएका छन् ।

कर्णाली करिडोरलाई ‘जिरो प्वाइन्ट’ मानेर प्रत्येक वडा कार्यालयको केन्द्रसम्म सडक सञ्जाल जोडिएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभएको छ । वडा कार्यालयसम्म सडक सञ्जाल जोड्न गाउँपालिकाले हालसम्म रु तीन करोड ७७ लाख खर्च गरेको छ ।

सबै वडामा सडक सञ्जाल जोडिने जगन्नाथ जिल्लाको पाँच गाउँपालिकामध्ये पहिलो गाउँपालिका हो । सडक सञ्जालमा जोडिएपछि गाउँसम्म जानआउन सहज भएको छ । तर कर्णाली करिडोरको बाटो पूर्णरूपमा सञ्चालनमा नआएकाले यातायातका सेवा नियमित गर्न असजिलो भएको अध्यक्ष शाहीले बताउनुभएको छ ।

सडक बाटोमा सवारीका साधनसँगै मोटरसाइकल र खच्चडलाई पनि थप सजिलो भएको वडा नं ३ का अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाले यो आर्थिक वर्षमा सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जनाइएको छ ।

 कर्णाली करिडोरदेखि मालिकासम्म जान सो सडकको समेत ‘सर्भे’ भएर ठेक्काको काम शुरु गर्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले जानकारी दिनुभयो । सडक सञ्जालसँगै प्रत्येक टोलटोलमा खानेपानी व्यवस्था गर्न तीन वडाका टोलमा धारासमेत निर्माण गरिएको गाउँपालिकाका सूचना अधिकारी गोकर्ण रेग्मीले जानकारी दिनुभयो ।

 स्थानीयले सहजै विकासको आभास गर्न सकुन् भनेर सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षाजस्ता अति आवश्यक पर्ने पूर्वाधारलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।

किसानले गरे बाटो मर्मत

जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीका स्थानीयवासीले श्रमदान गरी बाटो मर्मत गरेका छन् । सदरमुकाम मार्तडीदेखि रजाली जाने मूल बाटो स्थानीयवासीले श्रमदान गरी मर्मत गरेका हुन् । आउनजान असहज भएपछि श्रमदानबाट मर्मत गरिएको रजाली युवा समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।

रजाली युवा समूह, वडास्तरीय बाल अधिकार मञ्च र महिला अधिकार मञ्चको संयुक्त सहकार्यमा शनिबार खारगाडदेखि ठाटीकाँधसम्म करीब दुई किलोमिटर बाटो मर्मत गरिएको हो । ‘आफ्नो गाउँ आफँै बनाऔँ’ भन्ने मान्यताअनुसार नै स्थानीयवासीले बाटो मर्मत गरेका हुन् ।

बाटो बिग्रिँदै जाँदा तरकारी खेती ओसारपसारमा समस्या हुने भएपछि स्थानीयवासीले आफ्नै सक्रियतामा बाटो मर्मत गरेका हुन् । बाटो मर्मतमा करीब १५० बढी मर्मत कार्यमा सहभागी थिए । उनीहरुले हातमा कोदाली, साब्ला, सहितका उपकरण ल्याएर काम गरेका हुन् ।

बाटो बिग्रिँदै गएको, रातोमाटो भएको, बाटो चिप्लो बनेको र तरकारी बोकेर ल्याउन असहज हुने भएपछि किसानले आफँै बाटो मर्मत गरेको बताएका छन् । नगरपालिकाले सडक बाटो सञ्चालनमा ढिलाइ गरेपछि किसानले तरकारी बोकेरै मार्तडी ल्याउने गरेका छन् ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!