त्रिविका लेखा अधिकृत सहित चारविरूद्ध मुद्दा दायर,पैसा लिएर नम्बर हेरफेर

Posted on: 08 Dec, 2019

मंसिर २२, काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध मुद्दा दायर गरेको छ | विद्यार्थीबाट पैसा लिएर उत्तरपुस्तिका नै फेरबदल गरेको आरोपमा  मुद्दा दायर गरेको हो |

लेखा अधिकृत कमलप्रसाद दाहालसहित चार जनाविरूद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेकोछ | उनीहरूले उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारेर लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखेर भित्री पाना घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरि सोही बास्तविक कभरपेजमा स्टिच लगाउने गरेको उजुरी परेको थियो |

लेखा अधिकृत दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी जानुका आलेमगर र हिरा कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरेको आरोप छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!