अब रोजगारीको लागि भारत जानेले पनि सरकारसंग अनुमति लिनुपर्ने, बिमा पनि गरिने

Posted on: 24 Jan, 2017

माघ ११, काठमाडौं । नेपालबाट भारतमा रोजगारीको लागि जाने लाखौँ नेपालीहरुको कुनै सुरक्षा वा बिमा नगरिएको कारण अहिलेसम्म असुरक्षित हुँदै आएकोमा अब भने सरकारले भारतलाई पनि बैदेशिक रोजगारीको मान्यता दिंदै ब्यबस्थित गरिने जनाएको छ ।

सरकारले यो नीति एक महिना भित्रै कार्यबिधि बनाई कार्यान्वयनमा लगिने जनाएको हो । आज प्रधानमन्त्री प्रचण्ड सहित परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङले भारतलाई बैदेशिक रोजगारीको रुपमा हेर्दै नयाँ व्यवस्था गरिने घोषणा गरेका हुन् । घोषणा अनुसार रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनुपर्ने छ । साथै भारतमा रोजगारीको लागि जानेले पनि बीमामा ५ लाखको घातक रोग बीमा गर्नुपर्नेछ । जसमा क्यान्सर, किड्नी फेल, दृहयघात, प्यारालाइसिस लगायतका १५ रोगहरु छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतमा रोजगारीका लागि जाने नेपाली नागरिकले सिमामा पर्ने सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनु पर्नेछ । यही प्रक्रिया हुँदै जाँने नेपालीहरु यस्तो प्रक्रियाबाट भारत जाँदा सुरक्षित हुनेछन । त्यस्ता नागरिकहरुलाई सिमा पार गर्नु अघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउँनेछ भने त्यस पछी मात्र भारतमा काम गर्न जाने अनुमति पत्र दिनेछ । साथै भारत जाने नागरिकले साढे १२ लाखको म्यादी जीवन बीमा समेत गर्नेछन । त्यसरी भारत गएका नेपालीको यदी कुनै कारण भारतमै मृत्यु भएमा पीडित परिवारलाई बीमा बापत वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख प्रदान गरिनेछ । त्यस्तै घातक रोग लागेर मृत्यु नभएको तर, शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन् । 

भारतमा काम गर्न गएका नागरिकलाई घातक रोग लागेको प्रमाणित भएमा पनि बीमा रकम पाइनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!