सात वर्ष साउदीमा जेल परेका बीरबहादुरको फेसबुकमा ढाका टोपी लाएको ‘प्रोफाइल पिक्चर’

Posted on: 03 Feb, 2017

माघ २१, काठमाडौं । सात वर्ष साउदी अरबमा जेल परेर फर्किएका १० जनामध्ये एक हुन् ओखलढुंगाका बीरबहादुर बुढाथोकी । रगनी गाविस ६ टकरपुका बुढाथोकी सरकारले जीवनयापनका लागि केही सहयोग गरी पो हाल्ला कि भन्ने आशमा अहिले काठमाडौंमा हुनुहुन्छ । 

बुढाथोकीसँगै मोरङका चक्रबहादुर गुरुङ र भीमप्रसाद चिमोरिया, झापाका दिपेन सेर्मा, नवलपरासीका कृष्णबहादुर दमाई, तनहुँका केसबहादुर नेपाली, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, भोजपुरका श्रीकुमार राई र मोरङका उमेश श्रेष्ठ जेल परेका थिए । 

उनीहरुलाई एक जना भारतीय कामदारको हत्या गरेको अभियोगमा जेल चलान गरिएको थियो । तर उनीहरुले हत्या गरेको पुष्टि भएन । र अदालतले निर्दोष भएको फैसला गरेपछि जेलमुक्त भएर झण्डै डेढ महिनाअघि नेपाल फर्किए । 

अस्पतालमा पनि कुटपिट

उनीहरुमध्ये मोरङको इटहराका उमेश श्रेष्ठको जेल परेको दुई वर्षमा मृत्यु भयो । बीरबहादुरका अनुसार उमेशलाई जेलमा सोधपुछ गर्दा करेन्ट लगाइएको थियो । अत्याधिक कुटपिट गरिएको थियो । धेरै नै पिडामा परेपछि उमेशको मानसिक सन्तुलन ठिक थिएन । मानसिक समस्या आएपछि श्रेष्ठलाई अस्पताल लगिएको थियो । तर श्रेष्ठ अस्पतालबाट निको भएर जेल फर्किएनन । मृत्यु भएको पाँच वर्षसम्म पनि श्रेष्ठको शव नेपाल पनि ल्याउन सकिएको छैन । 

श्रेष्ठलाई अस्पताल लैजाँदा सँगै जेल परेका भीमप्रसाद चिमोरिया र बीरबहादुर पनि थिए । जेलमा कुटपिट गरेर मानसिक सन्तुलन गुमाएका श्रेष्ठलाई प्रहरीले अस्पतालमा पनि कुटपिट गरेको थियो । ‘मानसिक सन्तुलन ठिक नभएका मान्छे जताजतै हिँड्न खोज्थे । त्यतिबेला पनि उमेशलाई प्रहरीले छातीमा ताकि ताकि कुट्थे ।’ बीरबहादुरले भन्नुभयो । 

बीरबहादुरको सात वर्षे जेल जीवन जति विरक्तलाग्दो छ, त्यसअघिका साउदी बसाई पनि सारै सुखद छैनन । सन् २००७ मा उहाँ साउदी अरब पुग्नुभएको हो । आफन्तले नै सुपरमार्केटमा क्लिनरको कामका लागि नै पठाएको थियो । महिनावारी एक हजार रियाल तलब भनिएको थियो । 

६ महिनासम्म ‘खबुज’ले छाक टरे 

एक लाख रुपैयाँ दाम बुझाएर साउदी पुगेपछि मात्रै बीरबहादुरलाई थाहा भयो, आफन्तले सुपरमार्केटमा नभएर सप्लाई कम्पनीमा आफूलाई पठाएको रहेछ । तलब पनि साढे चार सय रियालमात्रै । त्यत्ति पैसाले महिनाभर खानु पनि पर्ने । तर त्यो पैसा आउने काम पनि दिइएन बीरबहादुरलाई । 

कम्पनीले ६ महिनासम्म काम दिएन । बरु खाना खर्चका लागि महिनामा ५० रियाल दिन्थ्यो । त्यै पैसाले खबुज (रोटी) किनेर छाक टार्नुपर्ने । मिठो मसिना खान त्यति पैसाले पुग्ने कुरा पनि भएन । कम्पनीले अकामा (परिचयपत्र) पनि दिएको थिएन् । अकामा नभएपछि स्वतन्त्र रुपमा हिँडडुल गर्न पनि सकिन्नथ्यो । 

एक दिन सप्लाई कम्पनीले काम दियो । दैनिक १० घण्टे ड्युटी । विल्डिङ कन्ट्रक्सनमा बालुवा बोक्नुपर्ने । तातो घाममा काम गर्न नसकेपछि बीरबहादुर घर फर्किआउने तयारीमा हुनुहुन्थ्यो । त्यसैबेला प्रहरीले हत्या अभियोगमा उहाँलाई पक्राउ गरेको थियो । पक्राउ परेका अरु १० जना पनि थिए । र जेल चलान गरिएको थियो । 

फेसबुक चलाउन जेल परेका स्थानीयले अह्राएको काम गर्नुपर्ने 

जेलभित्रै फेसबुक लुकिछिपी चलाउन पाइन्थ्यो । तर चलाउने के बाट ? कसरी ? 

‘स्थानीय नागरिक पनि जेल परेका हुन्थे । उनीहरुसँग मोवाइल हुन्थ्यो । आफ्नो भाग काटेर खाना पानी दिएर, कपडा धोइदिएर वा उनीहरुले अह्राएको जस्तोसुकै काम गरेर फेसबुक चलाउन माग्ने ।’ बीरबहादुरले भन्नुभयो । 

जेल परेको सात वर्षको समयमा परिवारसँग सम्पर्क हुन गाह्रो थियो । जेल परेको थाहा पाएपछि आफन्त पनि टाढा भए । त्यसैले लुकिछिपी फेसबुक चलाउँदा उहाँले प्रोफाइल पिक्चर राख्नुभएन । लेखान्तमा विश्वास गर्ने बीरबहादुरले नेपाल फर्केपछि भने ढाका टोपी लाएको फोटो प्रोफाइल पिक्चर बनाउनु भएको छ । -उज्यालो अनलाइनबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!