वैदेशिक रोजगार व्यवसायीलाई शाखा र एजेन्ट अध्यावधी गर्न विभागको आग्रह

Posted on: 11 Apr, 2018

 चैत २८,काठमाडौं ।वैदेशिक रोजगार विभागले शाखा कार्यालय तथा एजेन्टहरुलाई सात दिनभित्र अध्यावधि गर्न वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गरेको छ ।  विभागले एक सूचना जारी गर्दै शाखा कार्यालय तथा एजेन्टहरुको विवरण अध्यावधि गर्न भनेको छ ।  आइतवारदेखि शुरु भएको म्याद आगामी शनिबारसम्म मात्र रहने छ  ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा वैदेशिक रोजगार व्यवसायीहरुले धेरै अगाडि नै एजेन्ट खारेज गर्ने निर्णय गरेपनि वैदेशिक रोजगार ऐन–२०६४ र वैदेशिक रोजगार नियमावलीमा एजेन्टको व्यवस्था अहिलेपनि कायमै छ ।

विभागले केहि दिन अगाडी पूर्वका झापा, मोरङ र सुनसरीमा शाखा कार्यालय तथा एजेन्टका कार्यालयहरुको स्थलगत अनुगमन गरेको थियो । अनुगमन क्रममा  बिना अनुमति म्यानपावर कम्पनीले सयौं अवैधानिक शाखा कार्यालय र एजेन्ट कार्यालय खोलेर काम गरेको विभागले तयार पारेको आन्तरिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

सोही अध्ययनपछि विभागले एजेन्ट तथा शाखा कार्यालय अध्यावधि गर्न सूचना निकालेको हो । देशैभर म्यानपावरका त्यस्ता अवैध शाखा र एजेन्ट कार्यालय खोलिएपनि पूर्वमा भने त्यो सङ्ख्या अत्याधिक रहेको पाइएको विभाग श्रोतको भनाइ छ छ । पूर्वी नेपालसँगै पोखरा, बुटवल, चितवन, नेपालगञ्जलगायत देशका विभिन्न भागमा अनुमति नै नलिई मेनपावरका अवैध शाखा कार्यालय ठूलो संख्यामा रहेको गुनासो आउने गरेको विभागका महानिर्देशक भुवन आचर्यको भनाइ छ ।

वैदेशिक रोजगार ऐन–२०६४ को दफा ४१ मा अनुमति विना शाखा कार्यालय खोलेमा विभागले प्रत्येक शाखाका लागि त्यस्तो अनुमति प्राप्त व्यक्ति/संस्थालाई दुई लाखका दरले जरिवाना गरी उक्त कार्यालय बन्द गर्न आदेश दिने उल्लेख छ । तर त्यसको कार्यान्वयनमा वैदेशिक रोजगार विभागले आवश्यक कदम चाल्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!