दक्षिण कोरियामा नेपाली कामदारको कोटा थप्न श्रम मन्त्री विष्टको आग्रह

Posted on: 06 Aug, 2018

साउन २१,काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्टले दक्षिण कोरियालाई नेपाललाई दिईंदै आएको कामदारको कोटा थप्न आग्रह गरेका छन् । उनले कोरियाको रोजगारी नेपालीका लागि आकर्षक रहेको भन्दै कोरिया सरकारलाई कामदारको संख्या थप्न आग्रह गरेका हुन् ।

मन्त्री विष्टले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क युङसिकसँगको भेटमा कोरियामा कार्यरत नेपाली कामदारहरुलाई देखा परेको निराशा र आत्माहत्याको समस्या न्यूनिकरण गर्न कामदारको आफन्तलाई भेटघाटको अवसर प्रदान गर्न समेत आग्रह गरे ।


मन्त्री विष्टले कोरिया जाने कामदारलाई त्यहाँको आवश्यता अनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयहरु वीच समन्वय गरिने प्रतिवद्धता जनाए । संघीय सरकारको मातहतमा रहने गरि स्थापना हुन लागेको तीनवटा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा समेत मन्त्री विष्टले व्यक्त गरे ।

राजदूत युङसिकले श्रम सम्बन्ध, वैदेशिक रोजगारी र आन्तरिक रोजगारीका क्षेत्रमा श्रम मन्त्रालयले चालेका कदमहरुको प्रशंसा गर्दै शुभकामना दिए । उनले नेपाली कामदार ईमान्दार र मिहेनती भएकोले कामदारको संख्या थप गर्ने साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने बताए । कामदारको आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाईसकिएको र केहि कामदारका आफन्तहरुले भेटघाट गरेर आईसकेको व्यहोरा समेत अवगत गराए । यसैगरी प्रतिष्ठानस्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जनाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!