बैदेशिक रोजगारीबाट फर्किएकाहरुको निशुल्क सीप परीक्षण हुँदै, कसरी सहभागी हुने, हेर्नुहोस

Posted on: 28 Nov, 2018

मंसिर १२, काठमाडौं । बैदेशिक रोजगारीबाट नेपाल फर्किनु भएको छ भने तपाइको लागि खुसीको खबर छ। तपाइले बैदेशिक रोजगारीको क्रममा काम गर्नुभएको सीपको परिक्षण नेपालमा हुने भएको छ । तपाइइले सिक्नुभएको सीपको परिक्षण गरि प्रमाणीकरण पश्च्यात प्रमाणपत्र उपलब्ध गराउने कार्यक्रम रहेको छ ।  

सरकारले विदेशबाट सीप आर्जन गरेर फर्किएका  युवालाई सीप प्रमाणिकरण गर्नका लागि निवेदन दिन आह्वान गरेको हो । आउँदो पुस ११ गतेसम्म सरकारले तोकेको बिभिन्न ठाउँमा आफूसँग भएको सीप प्रमाणिकरणको लागि निवेदन दिन सकिने जनाइएको छ । 

सरकारले जारी गरेको सूचना अनुअसार २० वटा पेशाको  प्रमाणिकरण गरिंदैछ । सीप प्रमाणिकरणको लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिलाई दिएको छ । 

समितिले नै फारम संकलन तथा सीप परीक्षण  र प्रमाणिकरण गराउने छ । विदेशबाट सीप सिकेर फर्किएका र सीप परीक्षण गराउन चाहने व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिको वेवसाइट तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेवसाइटबाट फारम डाउनलोड गरेर आउँदो पुस ११ गतेसम्म निवेदन दिन सक्नेछन् । समितिबाट सीप प्रमाणिकरण गराउँदा र फारम भर्दा कुनै पनि शुल्क नलाग्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।  

यी हुन् परिक्षण हुने सीपहरु 

सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणिकरण गर्ने जनाएको छ ।यस अन्तर्गत  विल्डिङ पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिक्स, एक्साभेटर अपरेटर, फर्निचर मेकर, स्टोन लेयर मेशन डकर्मी, असिस्टेन्ट वेटर र आर्क वेल्डरको सीप अमावेष गरिएको छ । 

त्यसैगरी स्टक्चरल फेब्रिकेटर, जुनियर प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्ड्रस्टियल इलेक्ट्रसियन, कमि तेस्रो र टेलरिङ पेशको सीप प्रमाणिकरण हुनेछ । 

सातै प्रदेशमा फारम संकलन केन्द्रहरु

सातै प्रदेशमा केन्द्र स्थापना गरेर विदेशबाट सीप आर्जन गरेर फर्किएका युवाको सीप प्रमाणिकरणका लागि व्यवस्था मिलाइएको छ । प्रदेश १ अन्तर्गत झापामा, दमक टेक्निकल एजुकेशन फाउन्डेशन प्रालि र सुनसरीमा पाथिभरा हिमालयन पोलिक्लिनक प्रालिमा सीप प्रमाणिकरणका लागि निवेदन दिन सकिनेछ । 

प्रदेश २ अन्तर्गत सिरहामा लहान प्राविधिक शिक्षालयमा, धनुषामा विपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्युटमा र पर्सामा बीरगंज इन्स्टिच्युटमा अफ टेक्नोलोजी बीरगंजमा निवेदन दिन सकिनेछ । 

त्यसैगरी प्रदेश ३ अन्तर्गत  मकवानपुरमा, नेपाल भारत मैत्री पोलिकिलनिक इन्स्टिच्युटमा हेटौंडामा, चितवनमा नारायणी पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा, भक्तपुरमा राष्ट्रिय सीप परीक्षण समिति सानोठिमीमा र काठमाडौंमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा निवेदन दिन सकिनेछ ।

प्रदेश ४ अन्तर्गत कास्कीमा पोखरा प्राविधिक शिक्षालय फूलबारीमा र बाग्लुङमा धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बलेवामा, प्रदेश ५ अन्तर्गत रुपन्देहीमा कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी रामनगरमा, दाङमा राप्ती प्राविधिक शिक्षालय लालमटियामा र  बाँकेमा भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा निवेदन दिन सकिनेछ । 

प्रदेश ६ अन्तर्गत सुर्खेतमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यलयमा र जुम्लामा कर्णाली प्राविधिक शिक्षालय र प्रदेश ७ अन्तर्गत कैलालीमा धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी प्रालिमा, कन्चनपुरमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगरमा र डोटीमा सेती प्राविधिक शिक्षालय दिपायलमा निवेदन दिन सकिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

फारम बुझाउँदा चाहिने कागजपत्र

नागरिकताको प्रतिलिपि

पासपोर्टको प्रतिलिपि र स्वदेश फर्किंदा अध्यागमनबाट छाप लागेको पाना समेत बुझाउन पर्नेछ । 

वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजहरु ।

हालसालै खिचेको पासपोर्ट साइजको फोटोकपी दुई प्रति । 

सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणीकरण गर्ने जनाएको छ । यो वर्ष एक हजार जनाको सीप परीक्षण हुने सरकारको अनुमान छ । एक हजार जनाभन्दा माथि आवेदन आएमा श्रोतको सुनिश्चितताको पछि मात्रै सीप परीक्षण हुने बोर्डले जनाएको छ । 

कहाँ सम्पर्क गर्ने ?

यसबारे थप जानकारी चाहिएमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयको फोन नम्बर ०१-४१०५०६८  र राष्ट्रिय सीप परिक्षण समिति, सानोठिमी भक्तपुरको सम्पर्क नम्बर ०१-६६३८१५३ मा कल गर्न सकिनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!