'असल आचरण राखी काम गर्ने म्यानपावर कम्पनीहरु पनि बदनाम भए'

Posted on: 31 Jan, 2019

चन्द्र सिंह अदै | वैदेशिक रोजगार बिश्वव्यापी रुपमा रहेको प्रचलन हो । यसलाई कसैले नकार्न सक्दैन । बिश्व परिवेशमा मानिसहरु उपयुक्त ठाउँ, सम्भावना र रोजगारको खोजीमा संसारका हरेक देशमा आफ्नो पहुँच राख्न सक्षम भईरहेका छन् । यस बिषयलाई सबैभन्दा महत्वपुर्ण भुमिका निर्वाह बिज्ञान तथा प्रबिधीले गरेको छ । यदि सूचना प्रबिधीको बिकास नभएको भए आज मानिसहरु आँखाले देखेको र निकटस्त व्यक्तिहरुले भनेको बिषयमा बिश्वास गरेर बस्नु पर्ने बाध्यता हुने थियो । सुनेको कुरा भन्दा अन्य कुरा थाहा पाउन पनि कठिन हुने अवस्था हुने थियो । त्यसकारण बिश्वमा जसले बिज्ञान तथा प्रबिधीको बिकास गरे उनीहरुलाई सबैभन्दा बढी धन्यबाद दिनुपर्छ । एक हिसावले भन्ने हो भने उनीहरु भगवान नै हुन । बिश्व परिवेशलाई बुझ्न अहिलेको प्रबिधीले सहज र सरल बनाई दिएको छ । बिभिन्न मुलुकको हावापानी, धर्म अन्य विकासक्रम समेत सहज  र सरल रुपमा जानकारी लिन सक्ने वातावरण अहिले बिज्ञान तथा प्रबिधीले मिलाईदिएको छ । 


बिज्ञान र प्रबिधीले हामी आज यतिसम्म सुबिधा उपयोग गर्न सक्छौं की चाहेको स्थानमा, चाहेको समयमा हामी जुनसुकै सूचनामा सहभागी हुन पाउँछौं र सफल हुन्छौं । वैदेशिक रोजगार क्षेत्रमा हेर्ने हो भने पनि आज यहि प्रबिधीको कारणले संसारमा रहेका श्रम बजारबाट नेपाली युवाहरुको लागि सरल र सहज रुपमा रोजगारको अवसर प्राप्त गर्ने वातावरण सृजना भएको छ । आज हाम्रो देशबाट दैनिक १५ सयको हाराहारीमा युवा जनशक्ति रोजगारको लागि विदेश जाने गरेका छन् । स्वदेशमा रोजगारीको राम्रो अवसर प्राप्त नभएको कारणले नै मानिसहरु बाध्यताले वैदेशिक रोजगारीमा सहभागी हुने गरेका छन् । यदि स्वदेशमै राम्रो रोजगारको अवसर पाउने हो भने नेपालीहरु पनि किन अर्को मुलुकमा गएर आफ्नो उर्वर जीवन व्यतित भईसकेपछि स्वदेश फर्कनु पर्थ्यो र ? त्यसैले यो वैदेशिक रोजगारसंग धेरै विषयहरु जोडिएका छन् । वैदेशिक रोजगारको बिषयसंग सम्बन्धीत नेपाल सरकारका निकायहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु संचारकर्मीहरु, राजनितिक दल, नागरिक समाजका मानिसहरु दिनानु-दिन सुरक्षित वैदेशिक रोजगारको बिषयमा गोष्ठी, सेमिनारमा कार्यपत्र प्रस्तुत गर्न र छलफल गर्न व्यस्त छन् । यस बिषयमा वास्तविकता के हो त ? साच्चै यस बिषयमा सबै सरोकारवालाहरु आत्मादेखि नै खुलेरै लागेका छन् त ? “कि मुखमा राम राम बगलीमा छुरा” हो त ? मेरो अहिलेसम्मको यस क्षेत्रको अनुभवले के भन्छ भने, वैदेशिक रोजगार क्षेत्रमा रहेको समस्याको नाममा वैदेशिक रोजगारसंग सम्बन्धीत सबैको उद्देश्य यस क्षेत्रलाई व्यवस्थित गर्ने नेपाली कामदारहरुको हालको अवस्थालाई सुधार गर्ने भन्दा पनि आफ्नो दैनिकी गुजारा गर्नको लागि चुहावटका बिषयहरु खोजी गर्ने कुरामा बढी समय खर्च गर्ने गरेको पाएको छु । 

वैदेशिक रोजगार क्षेत्रको सबैभन्दा महत्वपुर्ण हिस्सा ओगटेको मेनपावर कम्पनीहरु पनि सुधारिनु पर्छ, यसमा कुनै दुईमत छैन । यसका लागि स्वयम् व्यवसायीहरु र यस क्षेत्रलाई नियमन गर्ने सरकारी निकायहरु चनाखो हुनुपर्ने आवश्यकता छ । नियमित अनुगमनको अभावमा गलत काम गर्नेहरुलाई फाईदा हुने र यसबाट असल आचरण राखी काम गर्ने म्यापावर कम्पनीहरुलाई घाटा हुनेछ । यस क्षेत्रसंग सम्बन्धीत सरकारकारी निकायहरुको पनि बदनामी हुनेछ । त्यस कारण वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि सबैको समान सहभागिता र सहकार्यको निरन्तर आवश्यक छ ।

नेपालको सन्दर्भमा भन्ने हो भने वैदेशिक रोजगार क्षेत्र सुधार गर्ने नाममा लाखौं करोडौं बजेटहरु अन्तराष्ट्रिय गैरसरकारी निकायहरुबाट सहायता लिई कार्यक्रम गर्ने बाहानामा गैरसरकारी संस्थाहरु स्थापना गर्ने र कमाइखाने भाँडो बनाईरहेका छन् । त्यसबाट फाईदा लिने नेपालीको संख्या कति होला ? कतिपय अवस्थामा त सिधै दातृ निकायले नै कार्यक्रम तय गर्ने र उनिहरुकै उद्देश्यको आधारमा कार्यक्रमहरु संचालन हुने अवस्थाहरु पनि छन् । यो पक्कै पनि सकारात्मक पक्षबाट देखिदैन । नेपाल सरकारका सम्बन्धीत निकायहरुले पनि कुन काम सहि र कुन काम गलत भन्ने बिषयमा निर्क्यौल गरेर मात्र कार्यक्रमहरु स्वीकृत गर्ने गर्नुपर्छ । सुरुवाती अवस्थामा नै सचेत नहुने र जव गलत कामको परिणामहरु जनमानससम्म आईपुग्छन् र सर्वत्र बिरोध हुन थालेपछि चनाखो हुनुको कुनै तुक राख्दैन । यदि साँच्चै नै वैदेशिक रोजगार क्षेत्रमा नेपाल सरकार, नागरिक समाज, राजनितिक दल, व्यवसायी र बिदेश जाने कामदारहरु स्वयम् सचेत र आफ्ना उत्तरदायित्वबाट पछि नहट्ने हो भने कुनै प्रकारका समास्याहरु अवश्य कम हुने थिए । 

सामान्य आँखाले हेर्दा जनमानसमा परेको भ्रम के हो भने, म्याननपावर संचालकहरुले सबैभन्दा बढी पैसा कमाउँछन् । नेपाली जनता ठगेका छन् । राज्यलाई कर छली गरेका छन् भन्ने जस्ता अव्यवहारिक र तर्कहिन गाली र भ्रम फैलाउने काम गरिएको छ । यो बिषय कसैको हितमा छैन । एक तवरले भन्ने हो भने के म्यानपावर कम्पनी संचालकहरुको यो देशको लागि कुनै प्रकारको योगदान छैन त ? केहि कामनै नगरी व्यवसाय कसरी संचालन हुन्छ ? यस बिषयमा पनि आधारभुत सर्बेक्षण गर्न जरुरी छ । सर्वेक्षण म्यानपावर कम्पनीको मात्र होइन, वैदेशिक रोजगारको क्षेत्रमा काम गर्छु भनेर कोठे प्रतिवेदन तयार गर्ने गैरसरकारी संस्थाहरुको र अहिलेसम्म यो गरें, त्यो गरें भनेर आफूले तय गरेका साना-तिना बिबरण पेश गरेर ठूला कुरा गर्ने गैरसरकारी संघ/संस्थाहरुको पनि गर्न जरुरी छ । त्यसैगरि अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु र यस बिषयसंग सम्बन्धीत सबैको सामाजिक लेखा परिक्षण गर्न जरुरी छ । 

वैदेशिक रोजगार क्षेत्रमा रहेका विसंगति हटाउँछु भनेर उक्त बिषयमा काम गर्छु भनेर बिभिनन दातृनिकायहरुबाट हालसम्म गैरसरकारी संस्थाहरुले कति रकम लिएका होलान ? ति सबै संस्थाहरुले समाज कल्याण परिषदबाट अनुमति लिएका छन् की छैनन् ? भन्ने बिषयमा पनि अनुसन्धान हुनु जरुरी छ । त्यसैगरि संचार माध्यमहरुमा आएका नकारात्मक समाचारहरुको प्रभावको बिषयमा पनि अनुसन्धान हुनु जरुरी छ । 

मेरो बुझाईमा संचार माध्यम र गैरसरकारी संस्थाहरुलाई नियमन गर्ने बलियो आधिकारिक निकाय कुन हो भन्ने बिषयमा म पनि अन्यौलमा छु । त्यसैगरि म्यानपावर कम्पनीहरुको ठगिको बिषयमा पनि त्यसै प्रकारको भ्रमहरु छन् । कुन म्यानपावरले कस्तो प्रकारको गलत काम गरेको भन्ने बिषयमा पनि गहिरो अध्ययन कसले गर्छ भन्नेमा छु ।

मैले उठान गर्न खोजेको बिषय केहो भने अहिलेसम्मको वैदेशिक रोजगारको ईतिहाँसमा कुनैपनि संचार माध्यम र गैरसरकारी संस्थाहरुको प्रतिवेदन र नजरमा वैदेशिक रोजगारमा सफलता प्राप्त गरेका मानिसहरुको बिषय समेटिए जस्तो लाग्दैन । अर्काको भुमिमा गएर रोजगारी गरेर कमाएर ल्याउनु आफैंमा चुनौतीको बिषय हो । यस्तो कार्यमा सवै मानिसहरु सफल हुँदैनन् । एकाध मानिसहरु मात्र सफल हुन्छन् । सफलता हात पारेका मानिसहरुको अन्तरवार्ता र सफलताका कथाहरु किन समाजमा पस्कने काममा हामी चुकेका छौं ? त्यसैगरि म्यानपावर कम्पनीका संचालकहरु पनि आफुले गरेका असल र राम्रा कामहरुको बिषयमा खुलस्त भएर मुक्त कण्ठले किन प्रचार प्रसार गर्न पछि परिरहेका छन् त ? 

साँच्चै भन्ने हो भने वैदेशिक रोजगार व्यवसायी कम्पनीहरु नेपाल सरकारका सम्बन्धीत निकायहरुमा दर्ता भई संचालकहरुको पुर्ण बिवरण पेश गरि नेपाली नागरिकहरुले नै संचालन गरेको हुँदा अन्य व्यवसाय जस्तै यो व्यवसाय पनि एउटा सेवा उद्योग हो । वैदेशिक रोजगार व्यवसायीहरुले आफ्नो व्यक्तिगत लगानीमा बजार प्रवर्धन गरि नेपालीहरुका लागि रोजगार अवसर ल्याउने गरेका छन् । म्यानपावर क्षेत्रको बिकृती बिसंगतिको निराकरण गर्ने बहानामा यस क्षेत्रलाई खत्तम पार्ने कार्य गर्नु राम्रो होईन । 

यस क्षेत्र भित्र पनि बिसंगती नरहेको होईनन् । यसो भन्दैमा वैदेशिक रोजगार क्षेत्रले देश र जनतालाई गलत मात्र गरेको छ भनेर चित्रण गर्नु पनि न्यायसंगत हुँदैन । यो व्यवसायले राज्यलाई आर्थिक रुपमा सहयोग गरेको छ । कुल ग्राहस्त उत्पादनमा झन्डै ३०% प्रतिशत यो व्यावसायको योगदान छ । निश्चित रुपमा यस व्यवसायले पनि देशलाई आर्थिक रुपमा प्रचुर मात्रामा योगदान गरेको छ । यस कारण पनि वैदेशिक रोजगार क्षेत्रलाई नकारात्मक दृष्टिले मात्र हेरियो भने सही सबै सही नहुन सक्छ । 

जसले यो व्यवसायको बढी बिरोध र गलत प्रचार गर्छन्, तिनीहरुलेनै सबैभन्दा बढी वैदेशिक रोजगारको लागि गलत प्रक्रिया अपनाउने गर्दछन् र बिकृती बिसंगति फैलाउनेहरु पनि उनिहरु नै हुन । यसबाट हामीले बुझ्नुपर्ने कुरा भनेको कतै यो व्यवसायलाई तहस-नहस गर्ने योजना अनुरुप त्यस्ता मानिसहरु परिचालित त छैनन् ?

देशका करिव ५८% घरधुरीका मानिसहरु अहिले वैदेशिक रोजगारबाट बिप्रेषणको सहायताले जिविको पार्जन गरिरहेका छन्, चाहे त्यो बिकसित मुलुकमा गएका नेपाली हुन्, चाहे नेपाल सरकारले पठाएका मुलुकका नेपाली हुन् वा खाडीका मुलुकमा म्यानपावर मार्फत गएका नेपाली हुन्, ति सबैको कथा व्यथा एउटै हो । लामो समय आन्तरिक द्वन्दको कारणले देशमा भएका रोजगारीको अवसर गुमेको अवस्थामा वैदेशिक रोजगारलाई वैकल्पिक रोजगारीको रुपमा लिएका नेपालीहरुको अहिलेको यथार्थ भनेको वैदेशिक रोजगारीमा नै प्रमुख रुपमा निर्भर रहनु पर्ने वाध्यताहरु छन् । 

वैदेशिक रोजगारीमा संलग्न भईसकेका मानिसहरुलाई नेपालमै केही गरौं भन्ने सोच र चाहनाहरु हुँदा-हुँदै पनि वाध्यताले पुनः वैदेशिक रोजगारीमा सम्लग्न हुनुपर्ने अवस्था छ । नेपालको राजनितिक अवस्था, लगानीको वातावरण, भौगोलिक अवस्था तथा अन्य वातावरणिय प्रभावले गर्दा चुनौती मात्र देखेका नेपाली युवाहरु पुनः वैदेशिक रोजगारीलाई नै आफ्नो भाग्य सम्झने गरेका छन् । 

यसरी हेर्दा वैदेशिक रोजगार र यसका प्रमुख हिस्सेदार म्यानपावर कम्पनीलाई जतिसुकै नकारात्मक दृष्टिकोणले व्याख्या बिश्लेषण गरिएता पनि यसको वास्तविकता भने सामान्य तरिकाले बिश्लेषण गरेभन्दा फरक छ । नेपाली समाजको वास्तविकतालाई नियालेर हेर्ने हो भने वैदेशिक रोजगारीको सकारात्मक र नकारात्मक दुवै पाटाहरु छन् । वास्तविकता भन्दा फरक र सामाजिक रुपमा रहेको वास्तविकतालाई कुनै बिश्लेषण नै नगरी हचुवाको भरमा यो क्षेत्रको बद्नाम गर्नु खोज्नु पनि राम्रो होईन । 

अहिलेको नेपाली समाजको वास्तविकता भनेको नेपालमै बसेर केही गर्छु भन्ने युवाहरुलाई समाजले नै उल्लु बनाउँछ । नेपालमा केही हुँदैन, बिदेश भनेको बिदेश हो, नेपालमा बस्ने युवाहरु क्षमता नभएकाहरु हुन, हिम्मत गर्नुपर्छ जस्ता वाक्यांसले बाध्य भएर नेपालीहरु युवाहरु बिदेशिनु पर्ने अवस्था छ । गाउँघरमा पनि वैदेशिक रोजगारीमा जाने भनेपछि ऋण दिने सहयोग गर्ने संस्कारको विकास भएको छ । बाख्रा पालन गर्छु, कुखुरा पालन गर्छु भन्यो भने कसैले २ पैसा सापटी समेत दिँदैनन् । यस कारण यहाँ उठान गर्न खोजिएको बिषय के हो भने वैदेशिक रोजगारीको सकारात्मक पाटोलाई कहिलेसम्म नजरअन्दाज गर्ने हो । नेपाली संचार माध्यमहरु र कामदारका अधिकारका नाममा गलत बिवरणहरु पेश गरि समाजलाई दिग्भ्रमित गर्ने काम भएको छ । अव यथार्थ कहिलेबाट आउने हो ? वैदेशिक रोजगारमा पनि धेरै सफलताका कथाहरु छन् । एउटा सामान्य कामदारको रुपमा वैदेशिक रोजगारमा सम्लग्न भएको व्यक्ति सोही मुलुकमा आफुलाई प्राप्त अवसरलाई सदुपयोग गर्दै सोही कम्पनीमा उच्च स्तरको पद समाल्न सफल भएका छन् । यस्ता कथाले कहिले स्थान पाउँछ ।

नेपालमा हुँदा सामान्य रुपमा घर परिवार संचालन गर्न सक्ने व्यक्ति आज परिवारका सदस्यहरुलाई सुबिधा प्रदान गर्न सक्षम भएका छन् । वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषणको प्रयोगको बिषयमा भने नेपाल सरकारले नितिगत व्यवस्थामा धेरै नै परिमार्जन गर्नु पर्ने छ । अहिले हाम्रो समाजको विकासक्रम फरक तरिकाले भएको छ । हातमा पैसा भएपछि शारिरिक श्रम गर्नु हुँदैन सबै तयारी समानहरु किनेर नै चलाउनु पर्छ, तयारी र राम्रो प्याकिङ भएको सामान सबै भन्दा राम्रो हो, भन्ने बिषयले बढावा पाएको छ । यसको निराकरण गर्न नेपाल सरकारले नै नितिगत योजना तर्जुमा गर्नुपर्छ । आज हातमा २/४ लाख नभएका नेपालीहरु खाद्य बस्त र भौतिक सुविधामा रमेका छन् ।  

त्यस कारण अन्त्यमा मैले उठान गर्न खोजेको बिषय के हो भने, वैदेशिक रोजगारको बिषयमा एकले अर्कोलाई औंला देखाउँदैमा वैदेशिक रोजगारको समस्या समाधान र सजिलो हुने बिषय होईन । यसको लागि सरोकार राख्ने सम्बन्धीत सबै सरोकारवालाहरु एक भएर लाग्नु पर्छ । यसमा नेपाल सरकार, नागरिक समाज, राजनितिक दल,  म्यानपावर कम्पनी, जाने कामदार सबै पक्ष बराबर जिम्मेवार भएर गलत बिषयमा चिरफार गर्ने र सहि बिषय जसले गरेको भए पनि प्रोत्साहन गर्ने गर्नुपर्छ । गुण र दोषको आधारमा पुरस्कृत र दण्डित गर्ने नीतिले सुरक्षित वैदेशिक रोजगार हामी सबैको साझा सरोकार भन्ने बिषयलाई सार्थकता दिनेछ । 

धन्यबाद । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!