विदेशबाट फर्केकाले क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन वैदेशिक रोजगार वोर्डको आग्रह

Posted on: 29 Mar, 2020

चैत १६, काठमाडौं । वैदेशिक रोजगार वोर्डले हालै वैदेशिक रोजगारबाट फर्केका युवालाई निश्चित अवधिसम्म एकान्तवासमा बस्न आग्रह गरेको छ । विदेशबाट फर्किएकाहरुमा कोरोना भाइरसको सङ्क्रमण बढ्ने आशङ्कामा वोर्डले एक सूचना जारी गर्दै एकान्तवासमा बस्न आग्रह गरेको हो ।

नेपालमा अहिलेसम्म विदेशबाट फर्केका व्यक्तिमा मात्र कोरोनाको सङ्क्रमण देखिएको अवस्थामा वोर्डले गन्तव्य मुलुकबाट भर्खरै स्वदेश फर्केका युवालाई १४ दिन क्वारेन्टाइनमा बसेर सहयोग गर्न आग्रह गरेको हो ।

क्वारेन्टाइन अवधिपछि मात्र आफ्ना परिवार, साथीभाई तथा आफन्तसँग भेटघाट गरिदिन पनि बोर्डले अनुरोध गरेको छ । वोर्डले एक्कासि उच्च ज्वरो आएमा, श्वास फेर्न गाह्रो भएमा वा निरन्तर खोकी लाग्ने समस्या देखिएमा तत्कालै स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउन पनि अपिल गरेको छ ।

कोरोनाका कारण विश्व समुदाय नै आक्रान्त बनेको अवस्थामा आफू जहाँ भए पनि अनुशासित भई सरकारको निर्देशन पालना गर्न पनि वोर्डले आग्रह गरेको छ । सरकारले कोरोना भाइसरको सङ्क्रमण बढ्न सक्ने भन्दै पहिलो चरणमा यही चैत १८ गतेसम्म लकडाउन गरेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!