क्यानडा रोजगारीमा पठाइदिने भन्दै भारतीय गिरोह सक्रिय, ४ जना नियन्त्रणमा (भिडियो सहित)

Posted on: 02 Feb, 2021

माघ २०, काठमाडौँ | वैदेशिक रोजगार विभागले टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा छापा मारेको छ । म्यानपावरको कार्यालयले भाडामा लिएको ठाउँमा ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालि भन्ने अवैध संस्था खोली क्यानडा पठाउने काम गरेको पाइएको छ । उक्त संकास्पद विषयको उजुरी प्राप्त भएपछि वैदेशिक रोजगार बिभागको अनुगमन टोली र मिडिया उक्त स्थानमा पुगेको छ । तलको भिडियोमा हेर्न सक्नुहुन्छ । 

अनुगमनको क्रममा भारतीय नागरिकहरुद्वारा क्यानडा पठाइदिने भन्दै भएको ठगिमा सामाखुसी स्थित त्रिपाल स्टार म्यान्पावरले समेत साथ दिएको पाइएको छ । म्यानपावरको माथिल्लो तलामा दर्तानै नगरी अर्को कम्पनी खडा भएको पाइएको छ । जसमा ४ जना भारतीय नागरिकलाई कर्मचारीको रुपमा परिचालन गरिएको समेत पाइएको छ । 


विगत १ महिनादेखि बसपार्कमा आएर उक्त गिरोह वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरिरहेको दर्जनौं प्रमाणहरु समेत भेटिएका छन् । उक्त गिरोहले नेपाली युवाहरुसँग प्रतिव्यक्ति ५ हजार भारतीय रुपैयाँ उठाएको र अफर आएपछि १ लाख बुझाउनु पर्ने खालको सम्झौता गरेका छन् । तर छापा मार्ने क्रममा भेटिएका केहि कागजातमा ३/४ लाख रुपयाँ लिने सम्बन्धमा समेत कागजातहरु फेला परेका छन् । 



उक्त गिरोहले फेसबुक र ह्वाट्सएप प्रयोग गरि नेपाली युवाहरु माझ बिज्ञापन गर्ने गरेको र नक्कली कम्पनी खडा गरि अशुली गर्दै कार्यालय सार्दै अशुली गर्ने गरेको पाइएको छ । यो कार्यको योजनाकार आशिस सेट भने भारतमै रहेको पक्राउ परेका ४ जना भारतीय नागरिकहरुले बताएका छन् । 


विभागले छापा मार्ने क्रममा अवैध कार्यालय प्रयोजनका ल्यापटप २ थान, बिलप्याड २ थान, एमओयू पाना ५ थान, ट्रिपल स्टारको मार्केटिङ बुक १ थान, ठूलो बिलप्याड १ थान, कपिहरु १० थान, क्यानडाको अफर अफ इम्पोलायमेन्ट २ थान, राहदानीका फोटोकपी सहितको बायोडाटा र कागजातहरु ६ थान, ठूलो सम्झौता पत्र १ थान, सर्टिफिकेट अफ रजिष्ट्रेसन ६ थान र प्लाष्टिकको फाइल १ थान नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका भारतीय नागरिकहरुले आफूहरुसँग कुनैपनि पचिचयपत्र समेत नभएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पक्राउ परेकाहरुसँग थप अनुसन्धान हुने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!