विल्सन विक्रम हिन्दी फिल्मको सुटिङमा ब्यस्त, ढाका टोपी लगाएर आयषाको जोडी बने

Posted on: 14 Dec, 2016

मंसिर २९, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । १५ सिनका लागी चलचित्रमा अनुबन्धित भएका बिल्सन पर्दामा आयषा टाकियाको जोडी बनेका छन् । विल्सनले अभिनय गरेको चलचित्रको निर्माण युनिटको आग्रहमै नाम भने खुलाइएको छैन ।

१० दिनसम्म सुटिङमा रहने विल्सनलाई केही समयअघि नेपालमा कन्सर्ट गर्न आएका सांगीतिक समूहका सदस्यले सिफारिस गरेका थिए । अहिले भारतको महाराष्ट्रको पुनास्थित एक कोलोनीमा फिल्मको सुटिङ भइरहेको छ । 

उनी चलचित्रमा ढाका टोपी लगाएर अभिनय गरेको बताइएको छ । उनलाई चलचित्रको सम्पुर्ण दृश्यमा ढाका टोपीमा देख्न सकिनेछ ।

चलचित्रमा आयषा र वील्सन सहित मराठी फिल्मकी अभिनेत्री सुप्रिया पिलजंकर, नील भूपालान, राजश्री देशपाण्डे, र बाल कलाकार सर्ताज कक्कर मुख्य भूमिकामा छन् । पण्डेमोनियम पिक्चर्सको ब्यानरमा निर्माण भईरहेको फिल्मलाई पुष्कर सिंहले छायाँकन गरिहेका छन् ।  

वील्सनका लागि भ्यानिटी भ्यान, छुट्टै गाडी र ड्राईभरका साथ एक म्यानेजर समेत दिएर ठूलो सम्मान दिएको छ यूनिटले । नयाँ डिरेक्टर आशुतोष वारङको निर्देशनमा बनिरहेको फिल्मलाई मिल्ली सिन्नलले फाईनान्स गरेका छन् । 

यसअघि कलाकार सुनिल थापा पनि बलिउड चलचित्रमा अभिनय गरीसकेका छन् । सुनिलले बलिउड चलचित्रमा अभिनय गरेपछि उनको चर्चा अझ चुलिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!