सिरियलमा नकारात्मक भूमिका खेलेकी आम्रपालीलाई एक वृद्धाले घाइते हुनेगरी लडाइदिइन्

Posted on: 20 Dec, 2018

पुस ५ काठमाडौं | जिटिभीमा प्रशारण भएको भारतीय टेलिसिरियल ‘कुबुल हे’ मा आम्रपाली गुप्ताले तनवीरको नकारात्मक भूमिका निभाएकी थिइन् । उक्त भूमिकाको मूल्य आम्रपालीले घाइते भएर चुकाउनु परेको छ । तनवीरको भूमिकासँग रुष्ट एक वृद्धाले आम्रपालीलाई धकेलेर लडाइदिइन् जसका कारण उनको हात खुट्टामा चोट लागेको छ ।


इन्टरटेनमेन्ट वेबसाइट स्पटबोईको खबर अनुसार यो सिरियल बन्द भइसकेको छ ।

आम्रपालीका अनुसार उनलाई एक मन्दिरमा एक वृद्धाले धकेलेकी हुन् । उनका अनुसार गत मंगलबार बेलुकी मन्दिर गएकी आम्रपालीसँग उनका प्रशंसकहरुले फोटो खिचाइरहेका बेला ती महिला उनी नजिकै आइन् र उनलाई बेस्सरी धकेलेर लडाइदिइन् । उनले भनिन्, ‘मलाई लडाएपछि पनि ती वृद्धाले ‘तिमी खराब महिला हौ, किन अरुलाई दुःख दिन्छौ ? ’ भन्दै चिच्याइरहेकी थिइन् ।’

आम्रपालीले भनिन्, ‘घटनापछि मैले के गर्ने सोच्नै सकिनँ । ती वृद्धा महिला थिइन् त्यसकारण मैले केही गर्नै सकिनँ । मलाई चोट लाग्यो । तर यो अचम्मको कुरा हो कि उनले मेरो काम याद गरिरहेकी छिन् । तर यस्तो हुनु मेरो लागि खतरनाक होइन र ?’

आम्रपालीसँग केही महिनाअघि पनि एक घटना भएको थियो । अगस्टमा मुम्बईबाट दिल्ली जाने बेला विमानमा सँगै बसेका यात्रीले उनीमाथि दुर्व्यवहार गरेका थिए । ती यात्रीले आम्रपालीसँग फोटो खिचिरहेका थिए र उनलाई गलत तरिकाले छुने कोसिस गरिरहेका थिए । त्यसपछि आम्रपालीको सिट परिवर्तन गरिएको थियो ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!