‘दि भ्वाइस अफ नेपाल’ का विजेता सिडी अधिकारीले विक्रमलाई गरे ५० हजार सहयोग

Posted on: 20 Dec, 2018

पुस ५, पोखरा | ‘दि भ्वाइस अफ नेपाल’ का विजेता सिडी विजय अधिकारीले ‘नेपाल आइडल सिजन टु’का अन्तिम प्रतिस्पर्धी पोखराका विक्रम बराललाई ५० हजार सहयोग गर्दै जिताउन भोटिङ अपिल गरेका छन्। 

अधिकारीले गायन रियालिटी शो‘नेपाल आईडल’का अन्तिम प्रतिस्पर्धी बराललाई जिताउन सहयोग गरेको बताएका छन् । आफ्नो जन्मोथलो पोखरामै आएर आफूलाई भोट गरी जिताउने प्रशंसकलाई धन्यवाद दिदैं अधिकारीले आइडलका अन्तिम प्रतिस्पर्धी बरालका निम्ति पनि भोटको अपिल गरेका हुन् । 

अधिकारीले बुधबार बिक्रम बराल जिताउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भोट मागेका हुन् । एउटै विद्यालयमा अध्ययन गर्नुको साथै संगीत पनि एकै ठाउँमा सिकेको सम्झदै अधिकारीले बराल राम्रो प्रतिभा भएको बताए। 

नेपाल आइडलको फाइनल शुक्रबार हुदैंछ । काठमाडौंको पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसको चौरमा फाइनल हुनेछ । कार्यक्रममा विक्रम बराल जिताउ अभियान समितिले सिडीलाई सम्मान गरेको छ । बिक्रम बराल जिताउ अभियान समितिका संयोजक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रम सिडी विजय जिताउ अभियान समितिका संयोजक पदमराज ढकाल लगायतको उपस्थिति थियो। 

बराललाई जिताउन पोखरेली गायिका निलिमा थापा मगर सहयोग समितिबाट पाँच हजार रुपैयाँ संयोजक विनित जोजिजुले हस्तान्तरण गरे।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!