सरकारले विपल्पलाई वार्तामा बोलाएपछि...

Posted on: 15 Mar, 2019

चैत्र १, काठमाण्डौ | सरकारले वार्ताको लागि गरेको आह्वान स्वागतयोग्य रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बताएको छ । 

बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार विप्लव समूहसँग वार्ता र छलफलका लागि सधैँ तयार रहेको बताएका थिए । 

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आपराधिक गतिविधि गरेको भन्दै चन्द नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएर वार्ताका लागि गरिएको आह्वान स्वागतयोग्य नै रहे पनि औचित्य भने नरहेको विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्कीले बताए ।

एकातिर प्रतिबन्ध लगाउने भन्ने निर्णय गर्ने, अर्कोतिर वार्ताका लागि बोलाएको जस्तो गर्नु सरकारको द्वैध चरित्र भएको पनि उनले बताए । आफूहरूलाई प्रतिबन्ध लगाएर सरकारले जबर्जस्ती युद्धमा धकेल्न खोजेको कार्कीको भनाई छ । 

वार्ताका लागि बोलाएको भनेर बाहिर हल्ला गरिएको भए पनि पार्टीलाई पत्र लेखेर औपचारिक रुपमा वार्ताका लागि सरकारले कुनै पहल नगरेको पनि उनले प्रस्ट पारे ।

पार्टीले एकीकृत जनक्रान्तिको बाटो अंगालेर अघि बढेको भन्दै उहाँले स्वाधीन अर्थतन्त्रको विकास,  निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार जस्ता व्यवस्था स्थापित नहुँदासम्म आफ्नो पार्टी लडिरहने पनि कार्कीले बताए । 

कार्कीले सरकारले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फिर्ता लिएर वार्ताका लागि औपचारिक पत्र पठाए त्यसका लागि आफूहरु पनि तयार रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!