कन्सलटेन्सीमार्फत विदेश पठाउने भन्दै करोडौँ असुली, दिल्ली पुर्‍याएर बनाएका थिए बन्धक

Posted on: 29 Mar, 2024

चैत १६, काठमाडौँ । बेरोजगार युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गिरोहले मधेसका विभिन्न जिल्लाका कर्ण बहादुर बुढासमेत २२ जना युवाहरूलाई क्यानडा, स्पेन, पोल्यान्ड, माल्टालगायतका देशमा पठाउने प्रलोभन देखाएर दिल्ली पुर्‍याएको थियो । तर, दिल्लीमा युवाहरूलाई एक महिनासम्म बन्धक बनाएको प्रहरीले जनाएको छ ।


गिरोहलाई कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको अनुसन्धान टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको हरिवनका रूपेश ठाकुर, सर्लाहीकै कृष्णबहादुर राई छन् । राईको टप च्वाइस एजुकेसन कन्सलटेन्सीमार्फत विदेश पठाउने भन्दै युवारहरूबाट करोडौँ रुपैयाँ असुल गरिएको थियो । गिरोहले प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैँयासम्म ठगी गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।

साथै, दीपबहादुर तामाङलाई ६ लाख ठगि गरेको आरोपमा बाजुरा घर भइ हाल काठमाडौँ  बस्ने ३५ वर्षीय पर्वाराज पाण्डे पनि काठमाडौँ नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । उनीहरू पक्राउ परेलगत्तै पीडितहरू प्रहरी कार्यालयमै पुगेका छन् । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा डीएसपी पन्थी नेतृत्वको टोली आठ महिनाको अवधिमा २८० जनालाई पक्राउ गर्न सफल भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!