मङ्सिर २६, काठमाडौं । बैदेशिक रोजगार विभागले शान्तिनगरमा रहेको ओशो रिक्रुटिङ्ग एजेन्सीमा छापा मारेको छ । संयुक्त अरब इमिरेट्समा (युएई) जान लागेका एक युवासँग २ लाख ५ हजार लिंदै गर्दा फेलापारी नगद रकम वरामद गरिएको विभागका निर्देशक भोलानाथ गुरागाईंले साझा सबाललाई जानकारी दिए ।
युएईको इमिरेट्स कम्पनीमा लाइट ड्युटी ड्राइभर पदमा जानको लागि म्यानपावरले २ लाख ३० हजार माग गरेको पीडित युवाले बताएका छन् । श्रम स्वीकृति भए पस्च्यात म्यानपावरले पैसा नदिएसम्म टिकट नदिने भन्दै हप्तौं सम्म कुराएपछी चर्को शुल्क माग गर्ने म्यानपावर विरुद्ध विभागमा उजुरी दिएको उनले बताए । पीडित युवाको उजुरीका आधारमा विभागको आकष्मिक अनुगमन टोली बुधाबर म्यानपावर कम्पनीमा पुग्दा म्यानपावरका अपरेशन म्यानेजरले ती युवाबाट २ लाख ५ हजार रकम गन्दै गर्दा सो रकम जफत गरिएको हो । म्यानपावरले यस अघि भिषा प्रक्रियाका लागि भन्दै २० हजार रकम लिइसकेको उनले बताए ।
रकम अशुल्ने म्यानपावर कम्पनी संचालक सहित रकम लिने दुई कर्मचारीलाई विभागमा उपस्थित हुन पत्र काटिएको निर्देशक गुरागाईंले बताए । घटनाको थप अनुसन्धान गरि पीडितलाई सरकारले तोकेको लागतमै विदेश पठाउने ग्यारेन्टी गरि म्यानपावरलाई कारवाही गरिने विभागले जनाएको छ ।
पछिल्लो समय विभागले युवासँग तोकिएको लागत भन्दा बढी शुल्क लिने एजेन्ट तथा म्यानपावर विरुद्ध कारवाही प्रक्रिया तीब्र बनाउंदै लगेको छ । म्यानपावरले चर्को शुल्क मागेमा त्यस्ता कम्पनी तथा एजेन्ट विरुद्ध विभागमा उजुरी गर्न सकिने व्यवस्था छ । नेपाल र युएई विच श्रम समझदारी हुनुपुर्व पुर्व स्वीकृति लिएका डिमाण्डमा युएई जाने युवाबाट म्यानपावर कम्पनीले अधिकतम १० हजारसम्म सेवा शुल्क लिन पाउने व्यवस्था रहेको छ । तर श्रम समझदारी पूर्ण कार्यन्वयनमा आएपछि सो शुल्क समेत म्यानपावरले लिन नपाउने प्रावधान छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!