मलेसियामा विदेशी श्रमिकलाई शोषण गर्ने कम्पनीको अनुसन्धान गर्न माग

Posted on: 30 Jul, 2021

साउन १५, काठमाडौं । मलेसियामा नेपाली लगायतका आप्रवासी श्रमिक माथि श्रम शोषण गरेको अभियोग लागेको गुड ईयर टायर कम्पनीका बारेमा अनुसन्धान गर्न अधिकारकर्मीहरुले माग गरेका छन् । मलेसियामा सञ्चालनमा रहेको अमेरिकी कम्पनी गुड ईयरले गरेको शोषणका विषयमा अमेरिकाको सम्वन्धित सरकारी निकायले यसका बारेमा अनुसन्धान गर्नुपर्ने माग उनीहरुले गरेका हुन् ।

रोयटर्सका अनुसार हङकङ स्थित मानव तस्करी विरुद्द कार्यरत समूहले गत जुन महिनामा नै अमेरिकाको सम्वन्धि सरकारी निकायमा उजुरी गरेको छ । सो समूहले गुड ईयर टायरले विदेशी श्रमिकलाई बढी समय काम गराएको, ओभरटाइम वापतको रकम नदिएको, जवर्जस्ती काममा लगाएको लगायतका विषयमा श्रमिकहरुले नै स्थानीय अदालतमा मुद्दा हालेको र अदालतले समेत श्रमिकको पक्षमा फैसला गरेको भन्दै सो कम्पनीको बारेमा अनुसन्धान गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ । दक्षिण पूर्वी एसियामा अवस्थीत कुनै अमेरिकी कम्पनी विरुद्दको यस्तो घटना सार्वजनिक भएको सम्भवत पहिलो घटना यहि हुन सक्ने रोयटर्सले जनाएको छ ।

समूहका कार्यकारी निर्देशक डुकान जेपसनले श्रमिकले बताएको घटना विवरणले सो कम्पनीले अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम सन्वन्धि मापदण्ड मिचेको पुष्टि हुने बताएका छन् । आईएलओले भनें यो विषय हाल प्रहरी तथा अन्य निकायमा न्यायिक निरुपणको प्रकृयाका क्रममा रहेको भन्दै प्रतिकृया दिन नचाहेको रोयटर्सको समाचारमा उल्लेख छ । गुड ईयर कम्पनी टायर निर्माण गर्ने संसारका ठूला कम्पनीहरु मध्ये एक हो ।

यस अगाडी मलेसियामा ग्लोव्स निर्माण गर्ने कम्पनीहरुले यसरी नै श्रमिकलाई ठगि गरेको तथा उनीहरुल चर्को भर्ना शुल्क व्यहोर्नु परेको समाचार सार्वजनिक भएपछि अमेरिकाले ति कम्पनीको उत्पादनको विक्रिमा बन्देज लगाएको थियो । सोही बन्देजका कारण ति कम्पनीहरु आफ्नो कम्पनीमा कार्यरत तथा रोजगारी सकेर स्वदेश फर्किसकेका विदेशी श्रमिकलाई समेत उनीहरुले तिरेको भर्ना शुल्क फिर्ता दिन बाध्य भएका थिए । टप ग्लोव्स, डव्लुआरपी, हार्टालेगा लगायतका कम्पनीहरुले हाल पनि सो रकम फिर्ता गरिरहेका छन् ।

गुड ईयर कम्पनीलाई पनि औद्योगिक क्षेत्रको विषय हेर्ने अदालतले श्रमिकलाई उनीहरुले पाउनु पर्ने अतिरिक्त समय काम गरेको अतिरिक्त ज्याला लगायतका सुविधा उपलव्ध गराउन आदेश दिइसकेको छ । सो कम्पनी विरुद्द सोही कम्पनीमा कार्यरत नेपाली लगायत विभिन्न मुलुकका दर्जनौं श्रमिकले स्थानीय प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले सोही आधारमा मुद्दा चलाएको थियो । तर सो कम्पनीले अदालतका आदेश विरुद्द उच्च अदालतमा पुनरावेदन गरेको छ । गुड ईयर कम्पनीले भनें मानव अधिकार रक्षाका लागि आफ्नो संस्थाको बलियो नीति रहेको दावी गर्दै आएको छ । यो समाचार देशपरदेशमा प्रकाशित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!