मन्त्रालय बाँडफाँडबारे सहमति, कुन दललाई कति मन्त्रालय ?

Posted on: 05 Oct, 2021

असोज १९ , काठमाडौँ ।  सत्तारुढ दलहरूको आज बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार मङ्गलवार बिहान बसेको गठबन्धनको बैठकले मन्त्रालय भाडबन्डा लगाएको र बिहीबारसम्म मन्त्रालय विस्तार गर्ने निर्णय गरेको छ ।

काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबिच कुन दलले कुन-कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति जुटेको हो ।

भागबण्डामा कांग्रेसले ६ मन्त्री र एक राज्यमन्त्री पाएको छ ।  हाल काङ्ग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्र मन्त्रीमा डा. नारायण खड्का, कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ रहेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ५/५ मन्त्रालयसहित १/१ राज्यमन्त्री पाउने सहमति भएको पनि बताइएको छ ।

माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसालले जिम्मेवारी पाइसकेका छन्। माओवादीले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउनेछ। नेकपा एसले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउने छन् भने नेकपा एस र जसपाबाट कुनै पनि मन्त्री बनेका छैनन् ।

मङ्गलवार सत्तारुढ दलको बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!