संविधान संशोधन गरेर निर्वाचनः प्रधानमन्त्री दाहाल

Posted on: 31 Oct, 2016

कात्तिक १५, ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । 

न्हुदँ समारोह समितिद्वारा आज यहाँ नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताउनुभयो । 

खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको समेत उहाँको जोड रहेको थियो । 

उहाँले मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्ने औँल्याउनुभयो । संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति नजिक पुगेको उहाँको भनाइ थियो । 

“के मधेस, के पहाड, के तराई सबै एकढिक्का भएर देशलाई आर्थिक विकासतर्फ लैजानु आजको आवश्यकता हो” प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले नेवार समुदायको मात्र नेपाल संवत् नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय संवत् भएको बताउनुभयो । नेपाल संवत्लाई अन्तर्राष्ट्रिय रुपमा रहेको इस्वी संवत्सँग तालमेल हुनेगरी स्थापित गराउन जरुरी रहेको पनि प्रधानमन्त्रीको जोड थियो । 

समितिका अध्यक्ष मोतीलाल सिल्पकारले नेवार समुदायले मान्दै आएको नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन आग्रह गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!