मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा

Posted on: 14 Jun, 2017

जेठ ३१, मकवापनुर | मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । बुधबार गाउँपालिकाको केन्द्र चैनपुरमा  गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो । 

चेपाङ बाहुल्य रहेको राक्सिराङलाई संरक्षित क्षेत्र घोषणा गर्दै अनुमोदनको लागि नेपाल सरकारको प्रान्तीय तथा संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको कार्यकारी अधिकृत राजु आचार्यले बताउनुभयो । राक्सिराङ गाउँपालिकामा सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको र उनीहरु भोक रोग, गरिवी तथा अशिक्षा र कुरितीका कारण जंगली युगमा झैं जीवनयापन गर्न बाध्य भएकाले पहिलो बैठकले संरक्षित क्षेत्र घोषणा गरिएको बैठकको निर्णयमा उल्लेख छ । गाउँपालिकाले घोषणा गरेको संरक्षित क्षेत्रलाई विषेश अधिकार सहित अनुमोदन गर्न प्रान्तीय तथा संघीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको  कार्यकारी अधिकृत आचार्यले बताउनुभयो । ५० प्रतिशत बढि चेपाङ जातिको बसोबास रहेको राक्सिराङ गाउँपालिकामा गत वैशाख ३१ को स्थानीय निर्वाचनबाट चार वडा अध्यक्ष सहित २२ जना चेपाङ जनप्रतिनिधि निर्वाचित हुनुभएको थियो । साथै बैठकले गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र चैनपुरदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीसम्म छ किमि सडक बिस्तार गर्ने निर्णय गरेको छ । 

सडक निर्माणको लागि तत्काल डिपिआर गर्न डिभिजन सडक कार्यालय मकवानपुरसँग अनुराध गरी कार्य थाल्ने निर्णय भएको छ । बैठकले राक्सिराङ गाउँपालिकादेखि मनहरी गाउँपालिकाको सिमानासम्म रहेको मनहरी खोला र गोराङ्दी खोलामा नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । गाउँपालिकाको क्षेत्रभित्र जथाभावी भू–उत्खनन् गर्दा वन तथा वातावरणमा प्रतिकुल असर पर्दै गएकाले मेसिनी औजारहरु प्रयोग गरी भू–उत्खनन् गरी नदीजन्य पदार्थ निर्यात गर्न रोक लगाएको कार्यकारी अधिकृत आचार्यले बताउनुभयो । मनहरी र गोराङ्दी खोलामा जथाभावी नदीजन्य पदार्थ उत्खनन् हुँदै आएको छ ।साथै बैठकले राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा कायम राख्ने बैठकले निर्णय गरेको छ । आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को लागि अल्पकालिन र दिर्घकालिन योजनाहरु छनौट गरी वडा कार्यालयहरुले २०७४ असार १५ भित्र पेस गर्ने निर्णय भएको कार्यकारी अधिकृत आचार्यले बताउनुभयो । चैनपुरमा गाउँपालिकाको भवन नभएकाले तत्कालको लागि प्रजा जागृति आधारभूत विद्यालयको छात्रावास भवन पुर्ननिर्माण गरी सञ्चालन गरिने भएको छ । बैठकले कार्यालय भवन नभएका वडाहरु १,२,५,४ र ८ लाई तत्काल कार्यालय भवन(ट्रस) निर्माग गरी कार्यालय सञ्चालन गर्न प्रति वडा पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । बैठकमा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ,सदस्य तथा वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!