धेरै पर्‍यौं सरकारको भर, कहिले बन्छ हाम्रो घर ?

Posted on: 11 Jan, 2017


पुस २७, काठमाडौं । कोक्रोमा दुई वर्षको छोरा बोकेर आएकी सिन्धुपाल्चोक सेलाङ–६ की तेन्जीडोल्मा तामाङ सदरमुकाम चौतारामा भेटिइन् । उनको हातमा एउटा प्लेकार्ड थियो, कार्डमा लेखिएको थियो, ‘धेरै प-यौ सरकारको भर, कहिले बन्छ हाम्रो घर ?’

गत वर्षको १२ र २९ वैशाखको भूकम्पले सिंगै बस्ती तहसनहस पारेपछि तामाङसहित सेलाङवासी छिमेकी गाविस बासखर्क–१ मा बस्दै आएका छन् ।  सरकारी जग्गामा बस्दै आएका उनीहरूको घर बनाउने ठाउँ नै छैन ।

सेलाङ गाविस–८ कि लाकमाइ लोप्चन पनि तीन महिनाको दुधे छोरी पिठ्यूँमा बोकेर सदरमुकाम आएकी छन् । उनको पीडा पनि डोल्माको जस्तै छ । घर बनाउने जमिन नभएपछि उनी पनि सरकारले केही गरिदिन्छ कि भनेर सदरमुकाम आएकी हुन् । 

उनीहरूलाई भूमि अघिकार मञ्चले सदरमुकामसम्म आउन हौसला दिएको हो। जिल्ला भूमि अधिकार मञ्चले सदरमुकाम चौतारामा आयोजना गरेको जनमार्च कार्यक्रममा जिल्लाका पीडितहरू भेला भएर आफूहरूलाई पुनर्निर्माणमा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग माग गरे ।

गुठी जग्गाबाट पीडित भएकाहरू, भूकम्प र बाढीले जग्गा जमिन सबै पुरेपछि सुकुम्बासी भएका, सडक मापदण्डका कारण विस्थापित भएका भूमिपीडित सदरमुकाममा जम्मा भएर जनमार्चमार्फत आफूहरूलाई घर बनाउने जमिन उपलब्ध गराइदिन सरकारसँग माग गरेका हुन्। सदरमुकाम आएकाहरू फरकफरक प्रकृतिका पीडितहरू छन् । -राजधानी दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!