११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी, कहाँ–कहाँ छ समस्या ?

Posted on: 26 Mar, 2017

चैत १३, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ । सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा छन् ।

निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई १० चैतभित्र मतदानस्थल तोकेर पठाउन निर्देशन दिएको थियो । तर, तराईका आठ जिल्लामा मधेसी मोर्चाआबद्ध दलहरूको असहयोग र अवरोधका कारण मतदानस्थल तय हुन सकेको छैन । ती जिल्लाका केही गाउँपालिका र नगरपालिकामा तालाबन्दी छ ।

‘तराईका आठ जिल्लामध्ये पर्साबाट मतदानस्थल तय भएर आउने खबर आइसकेको छ,’ आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले नयाँ पत्रिकासँग भने, ‘अन्य जिल्लाबाट पनि आउने खबर आएको छ ।’

देशभर करिब १० हजार ३ वटा मतदानस्थल तय हुने आयोगको अनुमान छ । मतदान केन्द्रबारे टुंगो लाग्न भने बाँकी छ । गाउँपालिका र नगरपालिकाको वडाका मतदाता नामावलीको अन्तिम टुंगो लागेपछि केन्द्र तोक्ने तयारी निर्वाचन आयोगको छ । आयोगले बढीमा एक हजार मतदाता हुने गरी मतदान केन्द्र तोक्ने गरेको छ । करिब २१ हजार मतदान केन्द्र हुने अनुमान आयोगको छ ।

कहाँ–कहाँ छ समस्या ? : प्रदेश नम्बर २ का आठ जिल्लामध्ये सप्तरीका गाउँपालिका र नगरपालिकामा सबैभन्दा धेरै समस्या छ । सप्तरीका आठवटा नगरपालिका र नौवटा गाउँपालिकामा एक सय ६२ वटा वडा कार्यालय छन् । ती कुनै पनि कार्यालय सञ्चालनमा छैनन् । तर, अन्य सातवटा जिल्लामा भने आंशिक समस्या देखिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार रौतहटमा १०, बाराका ७ तथा धनुषा र महोत्तरीका केही गाउँपालिकामा समस्या छ । ‘ती क्षेत्रमा एकप्रकारले लुकामारीजस्तो भएको छ, उनीहरूले कार्यालयको बोर्ड जलाउने, हामीले बनाउने भइरहेको छ,’ तामाङले भने ।

मतदाता प्रशिक्षकलाई तालिम : आयोगले स्थानीय निर्वाचनका लागि शनिबार आठ स्थानमा ‘मतदाता शिक्षा कार्यक्रमअन्तर्गत ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ । दुईदिने प्रशिक्षण कार्यक्रम विराटनगर, सिन्धुली, हेटौँडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा सञ्चालन भइरहेका छन् । आयोगले प्रशिक्षण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारीहरू, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक महिला शिक्षक, जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी देशभरका ३ सय ५४ जनालाई क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ । क्षेत्रीयस्तरमा प्रशिक्षित प्रशिक्षकले ७ सय ४४ स्थानीय तहमा करिब २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई जिल्लास्तरमा प्रशिक्षण दिनेछन् ।

मतदाता नामावलीमा भ्रममा नपर्न आग्रह : आयोगले स्थानीय निर्वाचनका लागि मतदाताको नाम, ठेगाना हालको स्थानीय तहअनुसारको नयाँ ठेगानाअनुसार अद्यावधिक गर्ने, सानातिना त्रुटि हटाउने, दोहोरो नाम हटाउनेलगायत मतदाता नामावली परिष्कृत गर्ने काम गरिरहेको जनाएको छ । परिष्कृत नभएको मतदाता नामावली हेरेर भ्रममा नपर्न आयोगले आग्रह गरेको छ । आयोगका अनुसार परिष्कृत भएपछि तयार हुने अन्तिम नामावली आयोगको वेबसाइटमा राखिनेछ । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!